नेपालगन्ज–नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको उप–महासचिव पदमा निर्वाचित भेरी अञ्चल यातायात व्यवसायी संघ नेपालगन्जका अध्यक्ष डेकनाथ गौतमलाई मंगलवार नेपालगन्जमा बधाई तथा सम्मान गरिएको छ ।
भेरी अञ्चल यातायात व्यवसायी संघका पदाधिकारी र कर्मचारी संगठनले संघको कार्यालयमै एक समारोहका बीच उप–महासचिव गौतमलाई सम्मान गरेका हुन् ।
संघका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेल, उपाध्यक्ष रामु पन्थ, अनन्त शाह, महासचिव जुनबहादुर थापा, सचिव चन्द्रबहादुर थापा, सह–सचिव सरोज पन्थी, कोषाध्यक्ष बखतबहादुर केसी लगायतले अध्यक्ष गौतमलाई सम्मान गरेका हुन् ।
समारोहमा संघका कार्यसमिति सदस्य, कर्मचारी संगठनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा बोल्दै उप–महासचिव गौतमले आफ्नो मातृ संस्थाको तर्फबाट गरिएको सम्मानले आफूलाई थप उत्साह, प्रेरणा र दायित्व वोध भएको बताउँदै भेरी अंचल यातायात ब्यवसायी संघका पदाधिकारी, ब्यवसायी, कर्मचारीप्रति आभार प्रकट गरे ।
उनले आगामी दिनमा ब्यवसायी, कर्मचारीको हक हित, संरक्षणमा थप क्रियाशिल हुने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
यहि माघ १७, १८ र १९ गते चितवनमा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ महाधिवेशनबाट गौतम उप–महासचिवमा निर्वाचित भएका हुन् ।