सल्यान- सल्यानको वांगेलाकुरी बजारमा आगलागीमा भएको छ । आगलागिबाट दुई करोड भन्दा बढीको क्षति भएको छ । शनिबार बेलुकी भएको आगलागीबाट ८ वटा पसल, एउटा घर र ३ वटा मोटरसाइकल खरानी भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बागचौर नगरपालिकाको वडा नम्बर ५ मा रहेको बजारमा भएको आगलागीबाट ३ वटा किराना पसल, २ वटा होटेल, एउटा सुन पसल, एउटा फेन्सी पसल र एउटा सिलाइ पसल जलेर नष्ट भएका छन् ।
भाँडोमा बेच्न राखेको पेट्रोलका कारण आगलागी भएको भनिए पनि प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ । आगलागीबाट लोक बहादुर केसी, अनुरुप केसी र जंगबहादुर चन्दको किराना पसल जलेर पसलमा भएको सवै सामान नष्ट भएको छ । किराना पसलमा भएको झण्डै १ करोड ४० लाख बराबरको सामान जलेको स्थानीय जनक घर्तिले बताए ।
यस्तै रतिभान सुनारको सुन पसलमा भएको ४५ लाख बराबरका सुनचाँदीका गरगहना र सामाग्री जलेका छन् । यस्तै, आगलागीबाट गोविन्द देवकोटाको फेन्सी पसलबाट १० लाख, इन्द्र बहादुर थापा र गोविन्द बुढाथोकीको होटेलबाट २० लाख तथा खुमराज परियारको सिलाइ पसलमा १० लाखको क्षति भएको छ । यस्तै थलराज बस्नेतको घर पनि जलेर खरानी भएको छ । घरमा रहेको धनमाल सरसामान गरगहना गरेर ९० लाख बराबरको क्षति भएको छ । यस्तै आगलागीबाट तिनवटा मोटरसाइकल समेत जलेका छन् ।
नेकपा एमाले कर्णाली प्रदेशका सचेतक तथा सल्यान १ का प्रदेश सभा सदस्य गुलावजंग शाह, वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीलगायतले आगलागी भएको वांगेलाकुरी बजारको स्थलगत अवलोकन बताए छन । उहाँहरुले आगलागी पीडितलाई राहत सामाग्रीको अभाव हुन नदिनको लागि पहल गरिने बताए ।
यसैबिच,सुनसरीमा भएको आगलागिबाट ६२ घर जलेका छन् । बराह नगरपालिका – ११ बस्ने पुरण चौधरीको घरबाट सल्केको आगोले हिजो राति ६२ घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ ।
राति ८ बजेतिर विद्युत सर्ट भई आगलागी भएको बताइउकौ छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।