एक वर्षमै बजेट भाषणमा तोकिएको लक्ष्यभन्दा ५ गुणा बढी रकम खर्च

बाँके बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ तथा ४८ मेगावाटको जलविद्युत गृह उत्पादनको लक्ष्य राखेकोे भेरी बबई डाइभर्सन आयोजनालको काम तिव्र गतिमा बढेको छ । चीनबाट ल्याएको टनेल बोडिङ मेसिन (टिबीएम)ले कात्तिक तेस्रो सातादेखि सुरुङ खन्न थालेपछि भेरी बबई डाइभर्सन आयोजनाले एक वर्षमै बजेट भाषणमा तोकिएको लक्ष्यभन्दा ५ गुणा बढी रकम खर्च गर्दैछ ।

सरकारले चालु आर्थिक वर्ष २०७४/७५ मा भेरी बबई डाइभर्सनका लागि ८८ करोड ८० लाख ९२ हजार छुट्टाएको थियो । तर, त्यो रकम अपर्याप्त भएको छ ।
देशका अधिकांश निर्माणाधीन आयोजनाले विकास बजेटको ठूलो हिस्सा खर्च गर्न नसकेको अवस्थामा यस अयोजनाले भने अहिलेसम्ममा १ अर्ब ६५ करोड खर्च गरिसकेको छ । माघ महिनामा मात्रै अर्थ मन्त्रालयले आयोजनालाई १ अर्ब रकम निकासा गरेको थियो । तर, रकम अपुग भएपछि थप २ अर्ब ९६ करोड अर्थ मन्त्रालयसँग माग गरिएको छ ।

आयोजनाको काम द्रुत गतिमा अघि बढेकाले थप रकमको आवश्यकता परेको आयोजना प्रमुख शिवकुमार बस्नेतले बताए । टिबीएम मेसिनले अहिलेसम्म २५ सय ५० मिटर सुरुङ खनेको छ । आयोजनाका लागि १२ किलोमिटर सुरुङ खन्नुपर्छ । त्यसमध्ये ६ किलोमिटर सुरुङ खन्न जोखिमयुक्त मानिएको छ, जहाँ अहिले काम भइरहेको छ । टिबीएम मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्ने छ ।

अर्थ मन्त्रालयको बजेट अर्ध वार्षिक समिक्षामा पनि यो आयोजनाले उल्लेख्य रुपमा प्रगति गरेको उल्लेख छ । आयोजनाको काम तीव्र गतिमा अघि बढेकाले थप रकम आवश्यक देखिएको बजेट समिक्षा रिपोर्टमा बताइएको छ । यस आयोजनामा १६ अर्ब ४३ करोड लागत आंकलन गरिएको छ ।
Online Khabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *