नेपालगन्ज–माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । बाँकेमा यस बर्ष ७ हजार ९ सय ५६ जना परिक्षार्थी परीक्षामा सामेल हुन लागेको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले जानकारी दिए ।
(एसईई) मा परीक्षा आवेदन फाराम भरेका मध्ये बाँकेका १ सय ५७ जना परिक्षार्थी एसईई परीक्षामा सहभागी हुन पाएका छैनन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका हुन् ।
विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेर समेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । शिक्षा नियमावली अनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्या्िदत र अनुशासित रुपमा संचालन गर्न स्थानीय, प्रादेशिक तथा संघीय तह र पदाधिकारीहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ ।
बोर्डले विद्यालय व्यवस्थापन समिति, राजनीतिक दल र शिक्षकलगायत एसईई परीक्षासंग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुसँग सहयोगको अनुरोध गरेको छ । यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसारको प्रश्नपत्रका आधारमा परीक्षा संचालन हुनेछ । अनुत्तिर्ण परीक्षार्थी र अक्षरांकन पद्धतिको नतिजामा विभिन्न विषयमा सी ग्रेड र सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षासमेत र ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
एसईईमा सम्मिलित हुने ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीका लागि १ हजार ९ सय ५६ केन्द्रमा १९ सय ५६ केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरिक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित भएका छन् ।