नेपालगन्ज-भारतको रुपैडियादेखि बाँकेको कोहलपुरसम्म रेल्बे लाइन विस्तार गर्न भारतको उत्तर रेल्बे गोरखपुरको प्राविधि टोलीले पहिलो चरणको सर्भेको काम पूरा गरेको छ।
उत्तर रेल्बे गोरखपुरबाट खटिएको आरके टेक्नो कन्सल्टेन्सीका प्राविधिक टोलीका इन्जिनियर सन्तोष त्रिपाठी र दिनेश तिवारीसहितको प्राविधिक टोलीले सर्भे गरेको हो। सीमावर्ति रुपैडियादेखि बाँकेको बालेगाउँ, पुरैना, पुरैनी हुँदै नेपालगन्जको राँझा विमानस्थलको दक्षिणबाट नेपालगन्ज कोहलपुर सडक क्रस गरेर नयाँ बस्ती हुँदै कोहलपुरसम्मको करिब साढे १६ किलोमिटर क्षेत्रको सर्भे भएको छ।
प्राविधिक टोलीले रेल्बे लाइन विस्तार गर्न केन्द्रबाट दुवै तर्फ २० २० मिटर गरी ४० मिटर लामो क्षेत्रको रेखांकनका लागि प्रारम्भिक चरणको काम पूरा गरेको छ । टोलीले फागुन ३० देखि भारतको रुपैडियाबाट नेपालको कोहलपुरसम्म सर्भेको काम थालेको थियो।
टोलीले प्रारम्भिक चरणको अध्ययनपछि प्रतिवेदन उत्तर रेल्बे गोरखपुर र नेपाल सरकारलाई बुझाउनेछ । प्रतिवेदन अनुसार काम अगाडि बढाउन नेपाल सरकारले स्वीकृति दिएपछि रेल्वे लाइन निर्माण गरिने जग्गा सिमांकनका लागि पिल्लरहरु गाड्ने काम सुरु हुनेछ। रुपैडियादेखि कोहलपुर सम्मको साढे १६ किलोमिटर रेल्बे लाइनमा करिब ८ किलोमिटरको दुरीमा पर्ने पुरैनीमा रेल्बेको जक्सन निर्माण गर्ने गरी अध्ययनलाई अगाडि बढाइएको सर्भे टोली भारतीय इन्जिनियर सन्तोष त्रिपाठीले बताए ।
रुपैडियासम्म ५० वर्षपहिले देखि नै रेल्बे सेवा विस्तार भए पनि नेपाली क्षेत्रमा पहिलो पटक रेल्बे सेवा बिस्तारका लागि सर्भे भएको हो । सर्भेका लागि जिल्ला प्रशासन, मालपोत, नापी, वन र भन्सार कार्यालयका अधिकृतसहितको नेपाली टोलीले सहयोग गरेको छ।
यसअघि नेपाल–भारत रेल सेवा सञ्चालनका लागि दुई मुलुकका उच्च स्तरीय रेलवे अधिकारीबीच नेपालगन्जमा छलफल भएको थियो। पछिल्लो पटक सरकारको सचिव स्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकेसन सर्भे टोली’ गठन गरिसकेको छ। २०७४ साउन ५ को सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको हो।