बाँके । डुडुवा गाउँपालिकाको ५ वर्षिय पुर्ण सरसफाई रणनितिक योजना तयार गरिने भएको छ । गेरुवा ग्रामिण जागरण संघको पहलमा रणनितिक योजना तयार गर्न लागिएको हो ।
त्यसका लागि शुक्रवार नेपालगन्जमा एकदिने कार्यशाला आयोजना गरियो । कार्यशालामा गाउँपालिकाका सबै वडामा हरेक घरमा शौचालय निमार्ण, घरको वरिपरि सरसफाई सचेतनामुलक अभियान तथा मानिसको सोच परिवर्तन गर्ने किसिमका अभियान सञ्चालन गरि पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाइने छ ।
रणनितिक योजनापछि ५ वर्षमा गाउँपालिका पुर्ण रुपमा स्वास्थ हुने भएको हो । कार्यशालाको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शौचका लागि मानिसको सोंच परिवर्तन हुनपर्नेमा जोड दिदै करकापले नभई नागरिकको मानसिकता परिवर्तन गरि स्वास्थप्रतिको भावनाको विकास हुने बताए । उनले समुदायमा सचेतनामुलक अभियानका लागि सबैको सहयोगमार्फत मात्र मानिसको बानी व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे ।
गेरुवाका अध्यक्ष कृष्णजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यशालामा उपाध्यक्ष साहिदा बानो, वडाध्यक्षहरु भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, मोहनराम मिश्र, सगिर खा, राजेन्द्र कैराँती, पटेश्वरी कुर्मी, प्लान नेपाल अशोक केसी बोलेका थिए ।
कार्यशालामा गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधी, वडासचिव, कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यशालापछि आवश्यक अध्ययन अनुसन्धान गरि छिटटै रणनितिक योजना तयार गर्न सहयोग गर्ने गेरुवाका रामरुप कौशलले बताए ।