नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने

 

काठमान्डौं- ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदै छ ।
जर्मन चिकित्सक रोर्वट कुकले सन् १८८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात टीबीको किटाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाउने गरिएको हो ।

दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमी तथा क्षयरोगको क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुले बर्षै्नि विभिन्न जनचेतनाका कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाउने गरेका छन् ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । नेपालमा ६० हजार क्षयरोगी भएको केन्द्रको तथ्याङ्क छ । आर्थिक वर्ष २०७३।७४ तथ्याङ्क ३१ हजार ७ सय ६४ जना क्षयरोगका विरामी पत्ता लागेको र उनीहरुको उपचार भइरहेको केन्द्रले जनाएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर केदारनरसिंह केसीले नयाँ पुराना क्षयरोगका बिरामीको अवस्थालाई हेर्दा वार्षीक २८ हजार विरामी हराइरहेको बताए ।

‘यी हराइरहेका क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउन नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमलाई चुनौति देखिएको छ’ डा. केसीले भने, ‘क्षयरोगको उपचारबाट बाहिर रहेका बिरामीलाई उपचारमा ल्याउन स्थानीय तहको सहभागिता सहयोग र सक्रिय नेतृत्वको आवश्यकता छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकिकृत स्वास्थ्य प्रणाली मार्फत ४ हजार ३ सय २१ उपचार केन्द्रहरु, ९६ वटा शहरी केन्द्रहरु, ६ सय ४ वटा रोग निदान केन्द्र र २७ वटा जीन एक्सपर्ट केन्द्र तथा २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालामा क्षयरोगको सेवा प्रदान गरेको छ । यसैगरी औषधि प्रतिरोधी क्षयरोगका २८ वटा उपचार केन्द्र र ८१ वटा उपचार उपकेन्द्रबाट क्षयरोगका बिरामीले उपचार पाउने गरेका छन् ।

नियमित औषधि सेवन गरेमा निको हुने क्षयरोगका कारण नेपालमा अझै पनि वार्षीक ७ हजार मानिसको मृत्यु हुने डा. केसीले जानकारी दिए । उनले क्षयरोगका कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी वर्षमा स्थानिय निकायलाई क्षयरोग कार्यक्रमका बारेमा अभिमुखिकरण गरिने जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक राजेन्द्र पन्तले व्यवस्थापन कमजोरीको कारण वार्षीक ७ हजार नेपालीको क्षयरोगको कारण मृत्यु हुने गरेको बताए । उनले भने,‘ क्षयरोगको कारण, लक्षण र रोग निदानको लागि औषधि समेत विज्ञानले पत्ता लगाइसकेको छ । तर भौगोलिक विकटता, जनचेतनाको अभाव र रोग लुकाउने प्रवृत्तिले मानिसले अकालमै ज्यान गुमाउन परेको छ ।’

सरकारले क्षयरोगको उपचार निःशुल्क गरेपनि ग्रामिण क्षेत्रमा सेवाको पहुँच नभएको उनको भनाइ छ । क्षयरोगलाई नियन्त्रण गर्न र रोगका बिरामीलाई उपचारको पहुँचमा ल्याउन स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उनले बताए ।

‘सरकारको स्वास्थ्य कार्यक्रमहरु स्थानीइ तहमा गइसकेको अवस्था छ । अब स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रबाट सक्रिय भएर लागे भने क्षयरोग मुक्त नेपाल बनाउन सकिन्छ’ उनले भने, ‘नेपालाई क्षयरोग मुक्त बनाउन पहिला त स्थानीय तहका जनप्रतिनिधिले आफ्नो वडा,गाउँपालिका तथा नगरपालिकालाई क्षयरोग मुक्त बनाउँछु भनेर प्रतिबद्धता जनाउँनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *