नेपालगन्ज–नेपालगन्जमा जारी नेपाल वार एशोसिएसनको १४ औँ राष्ट्रिय सम्मेलनले आज नेपालगन्ज घोषणापत्र जारी गर्दै छ ।
तीन दिनदेखि जारी सम्मेलनको समापन समारोहमा सहभागि हुन कानून मन्त्री शेरबहादुर तामाङ आज नेपालगन्ज आउदै हुनुहुन्छ । संवैधानिक र कानूनी विषयमा प्रस्तुत कार्यपत्रमाथि गहन छलफल पश्चात आजै सम्मेलनले नेपालगन्ज घोषणापत्र जारी गर्ने नेपाल वार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो । सम्मेलनमा देशभरका तीन हजार कानून व्यवसायीको सहभागिता रहेको छ ।
कानून मन्त्री शेरबहादुर तामाङसँग प्रेस चौतारी नेपाल बाँकेले आज बिहान ११ बजे कार्यक्रम स्थल सिद्धार्थ भ्यूमै पत्रकार सम्मेलन गर्ने भएको छ ।
यसैबीच प्रगतिशील समूहका कानुन व्यवसायीले छुट्टै भेला गरी नेपाल बार एसोसिएसनको नेतृत्वको पछिल्लो भूमिकाले न्यायपालिका धरापमा परेको निष्कर्ष निकालेका छन् । उनीहरूले नेतृत्वकर्ताको भूमिकाप्रति असन्तुष्टि जनाउँदै बहुमतको दम्भमा न्यायपालिकाको शिर निहुरिने कार्य गरेको आरोप लगाए ।
नेपालगन्जमा बार एसोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन जारी छ । मुलुकभरिबाट सहभागी हुन आएका प्रगतिशील समूहका कानुन व्यवसायीले शनिबार छुट्टै भेला गरी बार नेतृत्वकर्ताको चर्को आलोचना गरेका हुन् । उनीहरूले बारको पछिल्लो भूमिकाले न्यायपालिका धरापमा परेको दाबी गरे । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो जन्ममिति आफैंले सच्याएको र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग घटनामा बारका नेतृत्वकर्ताको कार्यशैली आपत्तिजनक रहेको उनीहरूको आरोप छ ।
कानुन व्यवसायीले हालै बहिर्गमनमा परेका प्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादमा बार गम्भीर रूपमा चुकेको आरोप लगाए । संविधानविद् अधिवक्ता टीकाराम भट्टराईले बारको पछिल्लो गतिविधि निर्लज्ज देखिएको बताए ।
निवर्तमान प्रधानन्यायाधीश पराजुलीको बहिर्गनलाई लिएर बहस तातिरहेका बेला नेपालगन्जमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा बारले स्वतन्त्र न्यायपालिकाको मुद्दालाई प्राथमिकतामा राखेको छ । तर त्यही मुद्दालाई लिएर प्रगतिशील र प्रजातान्त्रिक समूहका कानुन व्यवसायीको मत बाझिएको हो ।
शनिबार मानव अधिकार, संक्रमणकालीन न्याय र शान्ति प्रक्रिया, देवानी आचारसंहिता, स्थानीय निकायको न्यायिक समितिको अधिकार र वातावरणसम्बन्धी कार्यपत्र पेस गरिएका छन् । उक्त कार्यपत्रमा प्यानल बहस भएको छ । आजसम्म चल्ने राष्टिूय सम्मेलनमा १० वटा विषयमा प्यानलगत छलफल गरी नेपालगन्ज घोषणापत्र जारी गर्ने कार्यक्रम छ ।