न्यायिक समिति संघ बाँकेको चौथो बैठक नरैनापुरमा

नेपालगन्ज- न्यायिक समिति संघ बाँकेको चौथो बैठक आइतवार नरैनापुर गाउँपालिकामा बसेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरस्थित गाउँपालिका कार्यालयमा संघको ‘मोबाइल मिटिङ्ग’ बसेको हो।बैठकले संघलाई आवश्यक पर्ने ऐन, कानुन, कागजपत्र, फारामको ढाँचा ड्राफ्ट गर्ने जिम्मा संघका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई दिने निर्णय गरेको छ। ८ वटै स्थानीय तहका न्यायिक समितिका संयोजकहरुको उपस्थितिमा बैठक बसेको हो । न्यायिक समितिको संयोजक स्थानीय तहका उपाध्यक्ष वा उपप्रमुख रहने व्यवस्था छ।

बैठक अघि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले सबै उपप्रमुखहरुलाई गाउँपालिका कार्यालयमा स्वागत गरेका थिए। अध्यक्ष शाहले गाउँपालिकाले संचालन गरिरहेका गतिविधिका विषयमा जानकारी गराएका थिए। न्यायिक समितिको प्रभावकारी सञ्चालनका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष शाहले गरेका छन्। संघका संयोजक थापाले न्यायिक समितिको सहजताका लागि इजलास कक्ष, कानुन शाखा, कर्मचारीको व्यवस्थापन, दक्षता अभिबृद्धि तालिम गर्न गाउँपालिकालाई आग्रह गरेकी छिन ।

न्यायिक समितिको काम, कर्तव्य, अधिकार र उपाध्यक्षको जिम्मेवारीबारे प्रष्ट हुन अध्यक्षलाई सहयोग पुर्याउने हेतुले सबै स्थानीय तहमा ‘मोबाइल मिटिङ्ग’ राख्दै आएको थापाले बताइन। समितिको अर्को बैठक बैशाखमा राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्णय भएको संघले जनाएको छ । यसअघि कोहलपुरमा पहिलो, नेपालगञ्जमा दोस्रो र डुडुवामा संघको तेस्रो बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *