नेपालगन्ज- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध जनपरिषद् नेपालले बाँकेका जनप्रतिनिधिहरुलाई राजीनामा गर्न पत्र पठाएको छ । धमाधम यस्तो धम्कीपूर्ण पत्र र चन्दा माग गरेका पत्र आउन थालेपछि जनप्रतिनिधिहरु अन्योलको स्थितिमा पुगेका छन् ।
‘आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्र अनुरोध गर्दछौं । अन्यथा, उत्पन्न हुने परिस्थितिको तपाई आफै जिम्मेवार हुनुपर्नेछ’, जनपरिषद् नेपालले जनप्रतिनिधिहरुलाई पठाएको पत्रमा भनिएको छ ।
जनप्रतिनिधिलाई राजीनामा दिन धम्क्याउने जनपरिषद् नेपालले मोटो रकम चन्दा मागेको कोहलपुर नगरपालिका वडा नम्बर १३ अध्यक्ष ओम प्रकास ओलीले भन्ने हामीसँग १५ र २० हजार चन्दा मागिरहेको छन् हामीहरुले कहाँबाट दिने भन्दै वडा अध्यक्ष ओलीले मुख्यमन्त्री शंकर पोखरेलसँग गुनासो गरे ।
कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, वडाध्यक्षहरु कर्णबहादुर थापा, कणसिंह विसीलगायतले राजीनामाको धम्की र मोटो रकम चन्दा मागले समस्यामा पारेको बताए ।