नेपालगन्ज – बाँकेको जानकी गाउँपालिका वडा नं. ६ गनापुरमा रहेका उद्योगहरुले सडक सुधारमा ध्यान नदिएको भन्दै स्थानीयले सोमवार यातायात अवरुद्ध पारेका छन् ।
पिप्रहवाचोक देखि कपासीचोक सम्मको सडकमा उद्योगका मालवाहक गाडीले सडक विगारेको स्थानीयको आरोप रहेको छ । सडक मर्मतमा ध्यान दिनुपर्ने, धुलो हटाउन पानी छर्कनुपर्ने सहमति भएपनि उद्योग सञ्चालकहरुले अटेरी गरेका कारण गाडी सञ्चालनमा स्थानीयले अवरोध गरेका हुन् ।
यसअघि वडा कार्यालयमा भएको सर्वपक्षीय वैठकमा सडकमा धुलो उड्न नदिने र मर्मत सम्भारमा ध्यान दिने सहमति भएको थियो ।
सहमति कार्यान्वयनको लागि मंगलवार पुनः सर्वपक्षीय वैठक आव्हान गरिएको जानकी गाउँपालिका वडा नं. ६ गनापुरका वडाध्यक्ष सुरेश यादवले जानकारी दिए ।
गनापुरमा अहिले दुईवटा सिमेन्ट उद्योग, कत्था मिल ३ वटा, रोजिन टरपेन्टाईन उद्योग ५ वटा,प्लाईउड, आईरन प्लाष्टिक उद्योग १÷१ गरी ४४ उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगबाट संकलन हुन नसकेको राजश्व समेत अहिले जानकी गाउँपालिकाले वडा कार्यालयमार्फत असुली गरेको छ ।