बालबालिका विद्यालय नियमिततामा सुधार

नेपालगन्ज- जानकी गाउँपालिकामा बालबालिका विद्यालय उपस्थिति नियमिततामा सुधार आएको पाईएको छ।
प्लान नेपालसँगको सहकार्यमा सामाजिक सचेतन सरोकार मञ्च स्याक बाँकेले सञ्चालन गरेको लैंगिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजना अन्तर्गत विद्यालयमा गरिएका गतिविधिले उपस्थिति नियमिततासँगै बालबालिकाको शैक्षिकस्तर समेत बढेको हो ।
‘साना साना बालबालिका बेञ्चमा बसालेर पढाउदै गर्दा बेञ्चबाट खस्थे, तर अहिले यो समस्या छैन।’–जानकी गाउँपालिका –६ गनापुरस्थित हनुमान प्राविका प्रधानाध्यापक कैलाशनाथ बर्माले भने–‘अहिले कक्षा १ र २ का कक्षा कोठामा कार्पेटिङ गरिएको छ । पीफर्मममा बसेर आनन्दसँग विद्यार्थीले पढ्न पाएका छन् ।’
लैंगिक रुपान्तरण तथा समावेशी शिक्षा परियोजना अन्तर्गत कक्षा कोठामा बालबालिका पढ्ने वातावरण निर्माण सँगै आवश्यक शैक्षिक सामाग्रीको व्यवस्था भएपछि बालबालिका कक्षा कोठामा रमाएर पढ्न थालेको प्रधानाध्यापक वर्माको भनाई रहेको छ ।
यो परियोजना जानकी गाउँपालिकाका ५ विद्यालयमा सञ्चालन भएको छ । जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमिसरा धितालले परियोजना सञ्चालित विद्यालयमा पुगेर मंगलवार परियोजनाको अनुगमन गरेकी छिन् । परियोजना सञ्चालन भएका विद्यालयमा बालबालिका विद्यालय आउने र शैक्षिक वातावरणको निर्माण भएको पाईएको बताईन् । उनले यस्तो कार्यक्रम अन्य विद्यालयमा समेत सञ्चालन गर्न आग्रह गरेकी छिन्।
शिक्षाको गुणस्तर अभिवृद्धि गर्न कार्यक्रम प्रभावकारी देखिएको जानकी गाउँपालिका शिक्षा स्रोत व्यक्ति मुनिर खाँले जानकारी दिए। नेरामावि भाटनपूर्वाकी शिक्षक शिला श्रेष्ठले भनिन्–‘पहिला कोर्ष मात्रै पढाएर बस्थ्यौँ, अहिले संघ–संस्थाले कार्यक्रम सञ्चालन गरेपछि बालबालिकालाई व्यवहारिक कुरा सिकाउन सजिलो भएको छ ।’
प्लान नेपाल बाँकेका शिक्षा संयोजक सञ्जिव कुमार जोशीले शैक्षिक स्तर बढाउन परियोजना सहयोगी बन्ने विश्वस गरे । अनुगमनमा स्याकका अध्यक्ष शिवलाल पाण्डे, कार्यक्रम संयोजक कल्पना अधिकारी, स्रोत व्यक्ति मुनिर खाँ लगायत रहेका
थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *