प्रधानमन्त्रीको निर्देशनपछि तातिए कर्मचारी,७२ घण्टाभित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याइने

काठमान्डौँ- नयाँ शैक्षिक सत्रमा ७२ घण्टाभित्र विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याइने भएको छ । जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिक सत्र २०७५ मा अभिभावक तथा विद्यार्थीले पुस्तक नपाएको गुनासो गरेको ७२ घण्टाभित्र पुस्तक हातमा पुर्‍याउने तयारी गरेको हो ।

विगतमा शैक्षिक सत्र सकिँदासम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो झेल्दै आएको केन्द्रले यसपटक सम्पूर्ण संयन्त्र प्रयोग गरेर पाठ्यपुस्तक छपाई, ढुवानी र वितरणमा अग्रसरता लिएको हो । ‘हामीले सबै काम गरे पनि केही काम नगरेजस्तो देखिँदै आएको छ’ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका निमित्त प्रमुख तथा प्रवक्ता सुजनराज नेपालले भने ‘अब कहीँ कतै केहीगरी पाठ्यपुस्तक नपुगेको खबर आएको ७२ घण्टाभित्र विद्यार्थीको हातमै पुस्तक पुर्‍याउने तयारी गरेका छौँ ।’

डेढ करोड पुस्तक छापिए

नयाँ शैक्षिक सत्र २०७५ का लागि जनक शिक्षा सामग्री केन्द्रले डेढ करोड पाठ्यपुस्तकको छपाई सकिसकेको छ । ६ देखि १० कक्षासम्मका विद्यार्थीका लागि आवश्यक पर्ने १ करोड ९२ लाखमध्ये १ करोड ६५ लाख पुस्तक छपाई सकिएको केन्द्रका निमित्त प्रमुख तथा प्रवक्ता सुजनराज नेपालले जानकारी दिए । उनका अनुसार बाँकी रहेका पाठ्यपुस्तक छपाई काठमाडौं उपत्यकाका हुन् ।

‘डेढ करोड पुस्तक छपाई सकिएको छ’ उनले भने ‘छापिएका पुस्तक क्षेत्रीय कार्यालयहरुमा पनि पुर्याई सकिएको छ । अब क्षेत्रीय कार्यालयबाट पुस्तक विक्रेताले खरिद गरी जिल्ला सदरमुकाम र विद्यालयमा पुर्‍याउनेछन् ।’ एक देखि दश कक्षासम्मका लागि भने साढे ३ करोड पुस्तक आवश्यक पर्छन् ।

छापिएका पाठ्यपुस्तक जनक शिक्षाका क्षेत्रीय कार्यालय विराटनगर, जनकपुर, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढीमा पुर्‍याइ सकिएको छ । चैत २५ गतेसम्म विभिन्न ११ सय विक्रेताले जनक शिक्षाका क्षेत्रीय कार्यालयदेखि जिल्ला सदरमुकामसम्म खरिद गरेर लैजानेछन् । चैत २५ देखि बैशाख २ गतेसम्म सबै स्थानीय तहले खरिद गरी आफ्ना विद्यालयहरुमा पुर्‍याउनुपर्नेछ ।

केन्द्रका अनुसार बैशाख २ गतेसम्ममा विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेछ । यो क्रम बैशाख १६ गतेसम्म चल्नेछ । त्यसअघि भर्ना अभियानको समयमा पनि विद्यार्थीले पाठ्यपुस्तक लिन सक्नेछन् ।

कर्णाली र हिमाली जिल्लामा पुस्तक पुगे
जनक शिक्षाले यसपटक अग्रीम रुपमा कर्णाली अञ्चलका अति विकट तीन जिल्लासहित मनाङ र मुस्ताङ गरी पाँच जिल्लामा पाठ्यपुस्तक पुर्‍याई सकेको छ । कर्णालीका अति विकट हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पा हुन् ।

फागुनको दोस्रो हप्ताबाटै नयाँ शैक्षिक सत्र सुरु भएका यी जिल्लामा अरु जिल्लाभन्दा पहिला पाठ्यपुस्तक पुर्‍याइएको हो । पहिलो चरणमा विकट र हिमाली जिल्लामा सहज रुपमा पाठ्यपुस्तक पुर्‍याएपछि शिक्षा मन्त्रालय र जनक शिक्षाका कर्मचारी हौसिएका पनि छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि तातिएका कर्मचारी
यो वर्ष समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउन कम्मर कसेर लागेका कर्मचारीलाई कारवाहीको डर पनि छ । चैत महिनाभित्रै विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुगे प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही गर्ने चेतावनी दिएपछि जनक शिक्षाका कर्मचारी रातदिन नभनी पाठ्यपुस्तक छाप्न र ढुवानीमा लागेका हुन् ।

विगतमा शिक्षा मन्त्रीले दिएका पटक–पटकका निर्देशन अटेर गर्दै आएका कर्मचारी यसपटक प्रधानमन्त्रीको ‘कारवाही गर्ने निर्देशन’ पछि भने तातिएका मात्रै होइनन्, आत्तिएका पनि छन् ।

केहीगरी नयाँ शैक्षिक सत्रमा विद्यार्थी र अभिभावकले पाठ्यपुस्तक नपाए प्रधानमन्त्रीले नै कारवाही गर्ने भनेपछि कर्मचारीले सबै उपाय लगाएर काम गरिरहेका छन् । ‘म देशका जुनसुकै ठाउँमा जतिबेला पनि जान सक्छु’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै एक कर्मचारीले भने ‘त्यहाँ विद्यार्थीका हातमा पुस्तक नदेखे तपाईहरुलाई तुरुन्तै कारवाही गर्छु भन्नु भएको छ ।’

प्रधानमन्त्रीको कडा निर्देशनपछि जनक शिक्षादेखि शिक्षा मन्त्रालयकै कर्मचारी अहिले पाठ्यपुस्तक छाप्न, ढुवानी र वितरण गर्न मरिमेटी लागेका हुन् । उनीहरुले ढुवानीका लागि विक्रेता र अभिभावक तथा विद्यार्थीका लागि छुट्टाछुट्टै सूचना निकाल्ने पनि तयारी गरिरहेका छन् ।

पाठ्यपुस्तक छपाई र वितरणपछि बेखबर हुने गरेको जनक शिक्षा अब वितरणपछि पनि विद्यार्थीले पुस्तक पाए नपाएकोबारे प्रत्यक्ष जानकारी राख्न केन्द्रदेखि स्थानीय सञ्चारमाध्यमबाट सूचना निकालेरै अनुगमनमा खटिने अन्तिम तयारीमा छ ।

महाप्रबन्धक तिमिल्सेनाको सक्रियता
एकदेखि पाँच कक्षासम्मका पाठ्यपुस्तक छपाई र वितरणको काम निजी पुस्तक व्यवसायीले गर्दै आएका छन् । प्राथमिक तहका पाठ्यपुस्तक छपाई र वितरणमा भने फाट्टफुट्ट बाहेक ठूलो गुनासो सुनिएको छैन् ।

जसलाई निजी क्षेत्रका पुस्तक व्यवसायीको सफलता मानिन्छ । तर सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले भने बर्सेनि पाठ्यपुस्तक छपाई, वितरण र ढुवानीमा लापरवाही गर्नाले आलोचना खेप्दै आएको छ ।

यस वर्ष आलोचकका मुख बन्द गर्न जनक शिक्षाका महाप्रबन्धक महेश तिमिल्सिना सुरुदेखि नै लागि पर्नु भएको छ । गत वर्ष नै दुई वटा मेशिन खरिदको प्रक्रिया सुरु गरेका तिमिल्सेनाले यस वर्ष थप दुई वटा मेशिन थप गरी चार वटा मेशिनबाट पुस्तक छपाई गर्नु भएको हो । जसकारण छिटो, सजिलो र समयमै पुस्तक छपाई सकिएर विद्यार्थीका हातमा पाठ्यपुस्तक पुर्‍याउने योजना सफल हुने देखिएको छ ।

यद्यपी झण्डै ३० लाख पुस्तक छपाईको काम बाँकी नै छ । केन्द्रका स्थायी कर्मचारीले काममा ढिलाई गरेपछि बाहिरबाट कर्मचारी ल्याएर काम गर्नुपरेको प्रवक्तासमेत रहेका निमित्त प्रमुख नेपालले दावी गरे ।
‘हाम्रा कर्मचारीको काम निकै ढिलाई भएपछि बाहिरबाट कर्मचारी ल्याएर काम गरेका हौँ’ उहाँले भन्नुभयो ‘यसले पनि विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुग्न सजिलो हुने भएको हो ।’

दुई विषयको पाठ्यक्रम परिवर्तन, ऐच्छिक विज्ञान विषय थप
कक्षा ९ को ऐच्छिक गणित र अर्थशास्त्रको पाठ्यक्रम परिवर्तन गरिएको छ । कक्षा ९ मा नै यो वर्षदेखि ऐच्छिक विज्ञान विषयको पठनपाठन पनि सुरु हुँदैछ । यो विषय पोहोर नै लागु गरिए पनि यो वर्षबाट मात्र देशैभरिका विद्यालयबाट पठनपाठन सुरु गर्न लागिएको पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक तथा प्रवक्ता खुबिराम अधिकारीले जानकारी दिए ।

‘उच्च शिक्षामा विज्ञान विषय लिएर अध्ययन गर्ने विद्यार्थीलाई पूर्वतयारी गर्न ऐच्छिक विषय थप गरिएको हो’ उनले भने ‘गएको वर्ष नै विषय थप गरिए पनि यस वर्षबाट मात्र सबै विद्यालयमा पठनपाठन सुरु गर्न लागिएको हो ।’

– Ujyaloonline