नेपालगन्ज- नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीभन्दा नेता जोगाउने कार्यले नेपाली कांग्रेस रित्तिएको बताएका छन् । प्रेस युनियन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै सिंहले नेपाली कांग्रेसभित्र व्यक्ति जोगाउने प्रवृति हावी भएको उल्लेख गरे।
नेपाली कांग्रेसका लागि नेताभन्दा पनि पार्टीलाई जोगाउनुपर्ने अहिले प्रमुख खाँचो रहेको बताउदै सभापति शेरबहादुर देउवाको हातमा आएपछि नेपाली कांग्रेस पार्टी लथालिंगको अवस्थामा पुगेको आरोप लगाए ।
सिंहले पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफूले पार्टी्भित्रको कमीकमजोरीलाई लिखितरुपमा औल्याएर सभापति देउवालाई बुझाइसकेको जानकारी दिए।
अर्को प्रसंगमा उनले नेपाली जनताले आफै बनाएको संविधानप्रति टिप्पणी गर्ने अधिकार कसैलाई पनि नभएको चेतावनी दिए। युरोपियन युनियन अन्तर्गतको निर्वाचन पर्यवेक्षण मिसनले हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबारे दिएको धारणाप्रति उनले आपत्ति जनाए।
यसैबिच प्रकासमान सिहँले नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति बाँकेको छैठौ जिल्ला अधिवेसनको उद्घाटन समारोहमा बोल्दै नेतृत्व चयन गर्दा उचित नेतृत्व दिन सक्ने चयन गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाको सभापतित्वमा भएको समारोहलाई उद्घाटन गर्दै सिहँले उचित नेतृत्व छान्न सकिएन भने नेतृत्वबाट आसा गरिएको भन्दा विपरित फल पाइने उल्लेख गरे ।
त्यस्तै उनले बाँकेमा ट्रेड युनियनमा आवद्ध २० वटा संगठनहरुको समस्या केछ र समस्या पहिचान गरी निराकरण गर्नकालागि पनि उचित किसिमको नेतृत्व छान्न ट्रेड युनियनको ध्यानाकर्षण गराए ।
टूेड युनियन नेपाल कांग्रेस जिल्ला बाँकेका निवर्तमान अध्यक्ष शिवप्रसाद पाण्डेका अनुसार ट्रेड युनियनले आज नयाँ जिल्ला कार्यसमिति चयन गर्ने छ ।