नवलपरासी – नवलपरासीको कावासोतीमा निर्माणाधिन पुलबाट जनप्रतिनिधिकै संलग्नतामा सिमेन्ट चोरी भएको छ । कावासोती नगरपालिका वडा नम्बर १ र देवचुली नगरपालिका वडा नम्बर ९ जोडने गरी निर्माणाधिन लोकाहाको भोटीखोला पुलको सिमेन्ट वडा अध्यक्षकै संलग्नतामा चोरी भएको हो ।
पुल निर्माणका लागि राखिएको ९० बोरा सिमेन्ट कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नारायण पन्तकोे संलग्नतामा पुल निर्माणमा खटिएका सुपरभाइजर गोपाल थापासहितका व्यक्तिले मिलेमतो गरी चोरी गरे पछि स्थानीयसमेत आक्रोशित बनेका छन् । पुल निर्माणकै क्रममा सिमेन्ट चोरी भएपछि पुल निर्माणको कार्यसमेत प्रभावित भएको छ ।
पुल निर्माणका लागि बसेका सुपरभाइजर र वडा अध्यक्षको मिलेमतोमा चैत्र ११ गते राति चोरी भएको हो । पुल निर्माण स्थलमा सामाग्रीको सुरक्षका लागि बसेका व्यक्तिलाई स्टोरको चाबी खोल्न लगाई सिमेन्ट चोरी गरीएको हो ।
राति १२ बजेको समयमा वडा अध्यक्ष नारायण पन्तले स्टोरको चाबी खोल्न लगाएर ट्याक्टरमा लोड गरी सिमेन्ट लगेका थिए ।
भोटी खोला निर्माण व्यवस्थापन समितिका अध्यक्ष घनलाल भुषालका अनुसार अध्यक्ष पन्तले मदिरा सेवन गरी आफू राति पुल निर्माणस्थलमा पुगेको र सिमेन्ट निकालेको स्वीकार गरेका छन् । वडा अध्यक्षले आफूले सबै थाहा नपाएको र सुपरभाइजरले आफूलाई फसाएको भन्ने गरेको भुषालले बताए।
सिमेन्ट चोरी भएको थाहा पाएपछि कावासोती १ र देवचुली ९ का स्थानीय उपभोक्तासहित सरोकारवालाहरुको भेला समेत बसेको थियो । भेलामा बोल्ने क्रममा स्थानीयले वडा अध्यक्षले नियतवश रुपमा योजना बनाएर सिमेन्ट बेचर भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका थिए ।
चोरी गरिएको सिमेन्ट कमल भुषालको घरमा फेला परेको थियो । सिमेन्ट वडा अध्यक्ष पन्तकै वडास्थित रिठ्ठेपानीमा निर्माण हुन लागेको बाटोमा प्रयोगका लागि लगिएको भुषालले बताएका छन् । कमल भुषाल बाटो निर्माण समतिका कोषाध्यक्ष हुन् भने वडा अध्यक्ष पन्त पुल निर्माण समितिका सचिव समेत रहेका छन् ।
यता भुषालले भने ९ सय २० को सिमेन्ट ८ सयमा पाए पछि आफुले ल्याएको बताएका छन् । तर बाटो निर्माण समतिलाई सिमेन्ट निर्माणाधिन पुलबाट ल्याउने भन्ने कुनै जानकारी नभएको बताइएको छ ।
वडा अध्यक्ष पन्तले भने आफू भुलवश सुपरभाइजरको विश्वासमा परि राति सिमेन्ट निकाल्नका लागि पुगेको बताउनु भएको छ । उनले सुपरभाइजरले आफूलाई फसाएको प्रतिक्रिया दिए छ । सुपरभाइजर गोपाल थापा भने अहिले फरार रहेका छन् । फरार रहेका थापालाई पक्राउ नगरे सम्म आफूप्रति न्याय नहुने अध्यक्ष पन्तले बताए। नारायण पन्त नेपाली कांगे्रसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
वडा अध्यक्ष पन्त यसअघि वन मुद्धामा जेलसमेत परेका थिए । वन मुद्धामा फरार भएका पन्त चुनाव घोषणा भएपछि सजाय भुक्तान गरी वडा अध्यक्षको उम्मेदवार बनेका थिए ।
त्यो पुल जेभिसी बिल्डर्स कम्पनीले निर्माणका लागि ठेक्का लिएको छ । कम्पनीले झण्डै ४ करोड २५ लाखको लागतमा २५ मिटर लम्बाइको पुल निर्माण गर्न लागेको हो । कम्पनीका प्रमुख कुमार आचार्यले आफूले राज्यको दायित्व निर्वाह गर्न लाग्दा आफ्ना सामानको सुरक्षा समेत नभएकोले निर्माण सुचारु गर्न समस्या परेको बताउनु भएको छ । उनले चोरी भएको सामान र जरिवानासहित कानुनी कार्वाहीका लागि आफू लाग्ने बताउनु भएको छ । त्यसै अनरुप आफूले जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको समेत आचार्यले बताए ।
स्थानीयले भरपर्दो सुरक्षाको प्रत्याभूति दिए सहज रुपमा कार्य गर्न सकिने, नत्र निर्माणमै समस्या आउने उनले बताए ।
यता वर्षाअघि खोलाको दुवैतर्फ ड्याम निर्माण गर्न नसके निर्माणाधिन पुल तलका बस्ती र खेती योग्य जमिन कटान हुने भन्दै स्थानीय चिन्तित बनेका छन् । पुल निर्माणका क्रममा खोलामा कटान गरीएकोले समयमा व्यवस्थापन नगरे पानी बस्तीमा जाने भन्दै स्थानीय चिन्तित बनेका छन् ।