बाँके-भारतले दशगजा नजिकै बनाएको बाटोको कारण बाँकेको नरैनापुर गाउपालिका पूर्ण रुपले डूवानमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतले एकतर्फी अन्तराष्ट्रिय सन्धी मिचेर बाध जस्तो सडक बनाएपछि नरैनापुर गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका सबै गाउहरु डुबनामा पर्ने भन्दै गाँउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहाले चिन्ता व्यक्त गरेका छन् । भरतले बाँकेको पूर्वी नाका सुईया बघौडा हुँदै घोरदोरिया, जमुनाहा लगायतको दशगजा क्षेत्रमामै समानन्तर बाँध जस्तै सडक बनाएको कारण आफ्नो गाउपालिकामा समस्या हुने शाहाले बताए । उनले भारतीय पक्षले एकतर्फी रुपमा दशगजामा नै समानन्तर बाँध जस्तो बाटो बनाउदा नेपाली पक्षबाट कुनै प्रतिरोध नगरेको कारण पुरै गाउपालिका नै डुवानको जोखिममा परेको भन्दै उनले भने–‘ पानीको निकासको लागि अत्यन्तै सानो कल्भर्ट राखेको छ । त्यो पनि चाहेको बेला खोल्ने र बन्द गर्ने जस्तो बनाएको छ ।’
उनले भारतीय पक्षले नेपाललाई डुवाएर सोही पानीले भारतमा भने सिचाईको रुपमा प्रयोगमा ल्याउने आशंका व्यक्त गरे । त्यसैगरि बाँकेका आठवटै स्थानीय तहका उप प्रमुखहरुको एक टोलीले भारतले सुईया बघौडा नाकामा एकतर्फि बनाएको बाँध जस्तो बाटोको स्थलगत निरिक्षण गरेका छन् । स्थलगत अवलोकन पछि नेपालगन्ज उप–महानगरकी उप–मेयर उमा थापामगरले भारतले एकतर्फि रुपमा दशगजामानै निर्माण गरेको बाँध जस्तो बाटोको कराण बाँकेका सीमावर्ती सबै ठाँउहरु डुवानमा पर्ने अवस्था देखिएको बताईन । उनले भनिन–‘ जमिनको सतह भन्दा ३ मिटर उचाई भएको बाँध जस्तो सडकका कारण नेपालगन्ज उप–महानगर, खजुरा गाउपालिका, जानकी गाउपालिका, डुडुवा गाउपालिका डुबानमा पर्ने देखिएको छ । यसको लागि समयमा केन्द्रले दुईपक्षिय बार्ता गर्न आवश्यक देखियो ।’ उनले स्थानीय समस्यालाई स्थानीय तवरले हल गर्न पहल गरिए पनि केन्द्र सरकारले द्वपक्षिय बार्ता गरेर कम्तीमा पनि प्राकृतिक बाहाव नरोकीने गरी पहल गरिनु पर्ने बताएकी छिन ।