सहकारी संस्था स्थानीय र प्रदेश सरकारलाई बुझाउने तयारी

बाँके–कर्मचारी र भौतिक पूर्वाधारको अभाव झेल्दै आएका स्थानीय तहले अव सहकारी संस्थाको समेत जिम्मेवारी सम्हाल्नु पर्ने चुनौति आएको छ। यहि चैत्र भित्रै जिल्लामा रहेका सहकारी संस्थाहरु स्थानीय तहलाई जिम्मा लगाउने तयारी सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेले गरिरहेको छ।
जिल्लामा रहेका सहकारीहरुको नियमित अनुगमन, प्रशिक्षण र मासिक प्रगतिविवरण हेर्ने छुट्टै शाखा स्थानीय तहमा थपिने भएको छ । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमार्फत नियमित अनुगमन र प्रशिक्षण नभएको गुनासो गर्दै आएका सहकारीहरुलाई नियमन गर्ने चुनौति स्थानीय तहमा थपिएको छ ।
बाँकेमा ४ सय ७ वटा सहकारी रहेका छन् । ती मध्ये १ सय २५ वटा प्रदेशस्तरीय सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले हेर्ने र बाँकी सहकारी स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका  निमित्त प्राचार्य दिलकुमार वलीले जानकारी दिए । एउटा स्थानीय तहमा मात्रै कार्यक्षेत्र भएका सहकारी स्थानीय तहले हेर्ने छ भने एक भन्दा बढि स्थानीय तहलाई कार्यक्षेत्र बनाएका सहकारी संस्था प्रदेशस्तरीय सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले हेर्ने गरी फाईल छुट्टाउने काम भएको निमित्त प्राचार्य वलीले बताए ।
‘यहि चैत्र २८ गते भित्र सबै सहकारीको फाईल छुट्टाएर स्थानीय तह र प्रदेश सरकारलाई फाईल बुझाउने तयारी भएको छ ।’–सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका निमित्त प्राचार्य वलीले भने–‘अव सहकारीको समन्वय गर्न स्थानीय तहमा शाखा र प्रदेशमा विभाग स्थापना हुनेछ ।’
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले स्थानीय र प्रदेश सरकारबाट सहकारी संस्था नियमन चुनौतिपूर्ण रहेको बताए । ‘सहकारी डिभिजन कार्यालय जिल्लामै रहँदा सेवा नपुगेको गुनासो थियो, अव झन गाह्रो हुन सक्छ।’–अध्यक्ष सुवेदीले भने–‘बाँके जिल्लामा सहकारीको प्रदेशस्तरीय कार्यालय हुन सकेन भने अफ्ठेरो हुनेछ ।’

आर्थिक वर्ष ०७४।०७५ मा डिभिजन कार्यालय कामविहीन
सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्ने योजनाका साथ विभागले बजेट तथा कार्यक्रम नदिएपछि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चालु आर्थिक वर्षमा कामविहीन भएको छ। सहकारी संस्थाहरुको फाईल छुट्टाउने वाहेक अन्य काम हुन सकेन। गत साउन महिना यता जिल्लामा रहेका सहकारी संस्थाहरुको नियमित अनुगमन समेत हुन सकेको छैन। आवश्यक बजेट र कार्यक्रम नभएका कारण अनुगमन गर्न नसकिएको सहकारी निरीक्षक नन्दराम न्यौपानेले जानकारी दिए ।
यो वर्ष सहकारी संस्थामा अनियमितताका ६ वटा उजुरी परेका थिए । दुबै पक्षलाई कार्यालयमा भेला गराई आपसी छलफलको माध्यमबाट मिलाईएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका निमित्त प्राचार्य दिलकुमार वलीले बताए ।
नेपालगन्जको कारकाँदोमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको कम्पाउण्डसहितको ठूलो भवन, तालिम कक्ष, छात्रावास, गेष्टहाउस लगायतको संरचना रहेको छ । तर, यहाँ कार्यालय रहने नरहने कुनै टुंगो लागेको छैन । ‘प्रदेशस्तरीय विभागनै रहन सक्ने संरचना छ, त्यसैले केही न केही रहला, प्रदेशस्तरीय कार्यालय रहँदा राम्रो हुन्छ ।’–सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका निमित्त प्राचार्य दिलकुमार वलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *