डुडुवा गाउँपालिकाको राजपत्र प्रकाशित

बाँके । बाँकेको डुडुवा गाउँपालिकाले आफूले बनाएका ऐन, कानुन, नियमावली र कार्यविधिलाई राजपत्रमा प्रकाशित गरेको छ । हालसम्म बनेर प्रमाणिकरण भएका ऐन, कानुन, नियमावली र कार्यविधिलाई चैत्र १५ गते राजपत्रमा प्रकाशित गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

गाउँपालिका कार्यालय बनकट्टीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरी र उपाध्यक्ष साहिदा बानोले ‘डुडुवा राजपत्र’ सार्वजनिक गरेका थिए । प्रदेश ५ मा पहिलो पटक डुडुवाले आफूले निर्माण गरेको स्थानीय कानुन राजपत्रमा प्रकाशन गरेको हो । ६ वटा ऐन, कानुन, २ वटा नियमावली र ५ वटा कार्यविधि कार्यान्वयनमा ल्याइएको छ । आर्थिक, विनियोजन, शिक्षा, सहकारी लगायतका ऐन र डुडुवा गाउँपालिकाको राजपत्र प्रकाशन कार्यविधि, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन कार्यविधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता लक्षित कार्यविधि लगायतका कानुन, नियमालवी, कार्यविधि कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका कानुनी सल्लाहकार ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए।

‘डुडुवा राजपत्र’ सार्वजनिक गर्दै गाउँपालिक अध्यक्ष चौधरीले संबिधानले व्यवस्था गरेअनुसार गाउँपालिकाले आफ्नो कानुन निर्माण गरेको जानकारी दिनुभयो । चार महिना लगाएर दुई खण्डमा ‘डुडुवा राजपत्र’ प्रकाशन गरिएको छ । तेस्रो खण्ड प्रकाशनको तयारी समेत भइरहेको गाउँपालिकाले जनाएको छ । ऐन, कानुन र नियमावली राजपत्रमा प्रकाशित नहुँदासम्म लागू नहुने भएकाले संवैधानिक व्यवस्था अनुसार राजपत्रमा प्रकाशित गरिएको कानुनी सल्लाहकार ज्ञवालीले बताए ।