बाँके–नेपालगन्ज उप–महानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाको समग्र समिक्षा गरिएको छ । आयोजना समन्वय कार्यालय परियोजना कार्यान्वयन इकाइद्धारा अज बुधबार नेपालगन्ज आयोजित आयोजना अभिमुखीकरण कार्यक्रममा आयोजनाको प्रकृति, काम र आगामी कार्यक्रम बारे प्रकाश पार्दै आवश्यक राय सुझाव लिइएको थियो ।
उपमहानागरपालिकाका जनप्रतिनीधी, आयोजना, परियोजनाका प्रमुख एवं प्रतिनीधी, सम्वद्ध निर्माण कम्पनी, व्यवसायी लगायतको सहभागिता रहेको अभिमुखीकरणमा सन्वन्धित विषयमा विभिन्न प्रस्तुती भएको थियो । एशियाली विकास वैंकको ऋण तथा अनुदान सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना परियोजना कार्यान्वयन इकाइमार्फत नेपालगन्ज विकास निर्माण भइरहेको छ । कालिका जेडी्टएस जेभीसँगको सम्झौताअनुसार अहिले नगरमा ३६ किमी सडक तथा ४० कीमी नाला निर्माण भइरहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले नगरवासीको समस्या, आवश्यक्ता र मागलाई प्राथमकितामा राखेर काम बढाउनुपर्ने आवश्यक्तामा जोड दिए।
नगर प्रमुख राणाले वर्षा अगावै फोहर व्यवस्थापन, डुवानबाट जोगीन पानीको सहज निकास र गुणस्तरिय काममा ध्यान दिन सम्वद्ध पक्षको ध्यानाकर्षण गराए । उपप्रमुख उमा थापा मगरले जनताको गुनासोलाई समयमै सम्वोधन गर्न सवै पक्ष सचेत र जिम्मेवार बन्नुपर्ने बताए। आयोजना निर्देशक चक्रवर्ती कण्ठले आयोजनाको काम तिव्र रुपमा भइरहेको जनाउँदै यसको सफलता र प्रभावकारिताका लागि कर्मचारी, जनप्रतिनीधी र स्थानीय नागरिकको समन्वयात्मक भूमिका हुनुपर्ने बताए। परियोजना प्रमुख सुनिल ठाकुरले विकास निर्माणको कामको तिव्रतासँगै आएका गुनासोलाई पनि सम्वोधन गर्दै जाने विश्वास दिलाए। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको समेत उपस्थिती रहेको कार्यक्रममा वडा अध्यक्षले कामको गुणस्तरियताप्रति आयोजना सचेत हुनुपर्ने भन्दै आफुहरुको सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।