दुर्गा रोकाय, बाँके । नेपालगन्ज–४ की मीना सिजापती र उनकी छोरी सर्मिला सिजापतीले आफ्नै साथीहरुसंग करोडौं रकम उठाएर ठगी गरेर फरार भएपछि नेपालगन्जमा पीडित महिलाहरु न्यायको खोजीमा भौतारिएका छन् । आफ्नौ साथीहरुसंग सापटी लिएको ३ करोड ६३ लाख रुपैयाँ ठगेर उनीहरु फरार भएका छन् । नेपालगन्जका १० जनाभन्दा बढी महिलाहरुसंग आमाछोरीले पटकपटक गरेर उक्त रकम सापटी लिएको पीडित महिलाहरुले पत्रकार सम्मेलन गरेर बताएका छन् । भारत लखनउका रञ्जन टण्डनसमेतको संलग्नतामा मीना र उनकी छोरी सर्मिलाले आफ्नो पीडा देखाएर ती महिलाहरुसंग २०७० सालभन्दा अघिदेखि नै सिलसिलेबार ढंगबाट रकम उठाउँदै आएका थिए । नेपालगन्ज गणेशपुर र दाङ घर भएका ईश्वरीप्रसाद पौडेल, उनकी छोरी रचना, छोरा धिरजको ७८ लाख, नेपालगन्ज गोसाईगाउँकी उर्मिला श्रेष्ठको १५ लाख, सुशीला पौडेलको ५५ लाख, गंगा श्रेष्ठको ३ लाख, सुमन श्रेष्ठको ४० लाख, गीता पौडेलको १ करोड, लक्ष्मी कार्कीको ७७ लाख रुपैयाँ विभिन्न बाहनामा उनीहरुले सापटी लिएको पीडितहरुले बताए । शुरुमा एक डेढ लाख रुपैयाँ सापटी लिने कहिले फिर्ता गर्ने र कहिले थप गर्दै जाने क्रममा पछि अलि धेरै रकम पुगेपछि फिर्ता नगरी फिर्ता लिने भए अरु रकम थप गर हामी घडेरी किन्दै छौं, ग्यारेजमा लगानी गर्नु छ लगायतका बाहना गरेर सबै महिलाहरुसंग यसरी नै रकम असुली गरेको उनीहरुले बताएका छन् । साथी, दिदी बहिनीलाई समस्या परेको भन्दै घर परिवारबाट लुकाई छिपाई गरेर सामान्य ब्याज लिने गरी दिएको ठूलो रकम फसेपछि ती महिलाहरु आफूहरु घर न घाटको भएको पीडा सुनाउँछन् । कतिपयले घर नै दिएका छन् भने कतिपयले अन्य आफन्तीसंग आफुले सापटी ल्याएर दिएका छन् कतिले बैंकबाट निकालेर रकम दिएको बताएका छन् । यसरी चिनजानको र नेपालगन्जको राम्रै घरानाको मान्छे भनेर ढुक्क भएर कतिपयले तमसुक गरेर त कसैले त्यतिकै विश्वासमा दिएको रकम फिर्ता नगरी आमा छोरी नै फरार भएपछि महिलाहरु न्यायको खोजीमा हिडेका हुन् । उनीहरुले प्रहरी, प्रशासन र अदालतमा समेत न्यायको लागि गुहार गरे पनि आफुहरुलाई कतैबाट पनि न्याय नपाएको बताएका छन् ।