बाँके-बाँकेलाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्ने तयारीलाई तीब्र पारिएसँगै नेपालगन्ज उपमहानगरपालिका वडा नं वडा नं ६ लाई शुक्रबार खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । नेपालगन्ज उप–महानगरलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत शुक्रवार वडा नं ६ फुलटेक्रालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । आठ सय ७० घरधुरी रहेको वडा नं ६ मा सबै जसो घरमा शौचालय बनेपछि एक समारोहबीच खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो ।
२३ वडा रहेको नेपालगन्जमा अब नेपालगन्ज उपमहानगरपालिकामा ३ वटा वडा खुला दिसमुक्त वडा घोषणा गर्ने बाँकी रहेको छ । खुला दिसामुक्त वडा घोषणा समारोहमा वडा ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले वडाबासीका तर्फबाट अब खुला ठाउँमा दिसा नगर्ने, सरसफाई राख्ने लगायतका १३ बुँदे प्रतिबद्धता पनि जनाएका थिए ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि स्वास्थ्य र सरसफाईमा विशेष सतर्कता अपनाउन अझै जरुरी रहेको धारणा राखे ।
नेपालगन्ज उप–महानगर प्रमुख डा धवल शम्शेर राणाले नगरलाई नै खुला दिसामुक्त गर्ने अभियान अब सफलता उन्मुख भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन दिए ।
खुला दिसामुक्त अभियानका फोकल पर्सन ओबीराज आचार्यद्वारा सञ्चालित कार्यक्रममा वडा न १३ का वडा अध्यक्ष विरेन्द्र शाह, वडा सचिव राजसिंह सिजापति लगायतले शुभकामना दिएका थिए ।
उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन गौतम लगायत जनप्रतिनिधी, स्थानीय अगुवा लगायतको उपस्थिती रहेको समारोहमा खुला दिसामुक्त अभियानमा सहयोग गर्नु हुने करिब दुई दर्जनलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।