थारु कलाकारहरुको बृहत भेला बाँकेको गाभर भ्यालीमा

बाँके-५ बुंदे घोषणा पत्र जारी गर्दै थारु कलाकारहरुको बृहत भेला बाँकेको गाभर भ्यालीमा शुक्रवार सम्पन्न भएको छ । राष्ट्रिय थारु कलाकार संघ जिल्ला कार्यसमिति बाँकेको बृहत भेलाले नयाँ नेतृत्व समेत चयन गरिएको छ । संघको अध्यक्षमा सोहनलाल चौधरी, उपाध्यक्षमा जगन्नाथ चौधरी, सचिवमा विश्व सागर परियार, कोषाध्यक्षमा अमृता चौधरी सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा राजकुमार चौधरी, कृष्ण चौधरी, प्रदिप चौधरी, लक्ष्मी चौधरी, शम्भु चौधरी, सिता थारु, ऋतु थारु र गोविन्द्र चौधरी सहित १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । थारु कलाकार संघको सल्लाहकारमा कृष्णलाल चौधरी, काशीराम चौधरी र बलु घर्ति रहेका छन । राष्ट्रिय थारु कलाकार संघका केन्द्रिय सदस्य खेम भगौरियाको अध्यक्षतामा भएको बृहत छलफल कार्यक्रमको प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु रहेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख थारुले कलाकारिताकै माध्यमबाट समुदायमा सामाजिक, साँस्कृतिक विकास गर्न सहज भएको बताए ।
थारु समुदाय यस्तो समुदाय हो जसले सवैको भाषा बुझन र संस्कृतको रुची राख्ने समुदायको रुपमा चिनिन पुगिएको प्रमुख लाहुरामले बताए । छरिएर रहेका कलाकारहरुलाई एकै ठाउँमा राखेर उनिहरुलाई अवको कला र संस्कृतिको संरक्षण गर्न जिम्मेवारी पुर्वक लाग्न जरुरी रहेको उनले बताए । थारु समुदायको भेषभुषा गरगहनाहरु लोभ हुँदै गइरहेको बेला थारु समुदायको अति सुन्दर भेषभुषा गरगहनाहरु संरक्षण गर्दै प्रवद्र्धन गर्नमा थारु कलाकारहरुको महत्वपूर्ण भूमिका रहेको प्रमुख लाहुरामले बताए । थारु कला अहिलेका पुस्ताहरुले विर्सदै गएको थारु पत्रकार संघका पुर्व अध्यक्ष कृष्ण लाल थारुले बताउनुभयो । थारु कलाकारले नै अवको थारु संस्कृति संरक्षणमा योगदान गरि संरक्षण गर्न आवश्यक रहेको कुरामा उनले जोड दिए ।

कलाकार विश्वसार परियारले थारु समुदाय भित्र संस्कृतिको भण्डार रहेको हुनाले थारु समुदायमा खुसीको हर्ष समेत रहेको बताए । थारु बस्तीमा हुर्केका कलाकार विश्व सागरले विगत २०७० साल देखि थारु गायन क्षेत्रमा लागेर थारु कलाको जर्गेना गर्दै आएको बताउनुभयो । आफु पहाडी भएर पनि थारु कलाको संरक्षण प्रति सदैव जागरुक भएर काम गर्ने अवसरको रुपमा लिएको उनले बताए । राष्ट्रिय थारु कलाकार संघ जिल्ला कार्यसमिति बाँकेले ५ बुंदे घोषणा पत्र समेत जारी गरेको छ । थारु कलाकारिता मार्फत थारु कला संस्कृति संरक्षण एवं सम्बद्धन गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने कलाकार तथा सहयोग गर्न निकाय प्रति आभार व्यक्त गर्ने, थारु कलाकारिता क्षेत्रलाई प्रोत्साहन गर्दै यसको संस्थागत गर्ने, थारु कलाकारहरुको हक अधिकारका निम्ति पहल गर्ने । छरिएर रहेका थारु कलाकारहरुलाई एक जुट गराई थारु कलाकार संघमा आवद्ध गराउने, थारु कलाकारिताको माध्यमबाट थारु कला संस्कृतिको उत्थान गर्न सरोकारवाला विचमा सहकार्य एवं समन्वय गर्ने, थारु कलाकारहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन पहल गर्ने लगायतका रहेको छ । राष्ट्रिय थारु कलाकार संघका केन्द्रिय सदस्य खेम भौगरिया, संघका केन्द्रिय सदस्य मोडल सुनिता दहित, राप्ती सोनारी गाउँपालिका वडा नं। ७ का वडा अध्यक्ष रामलखन चौधरी, कोहलपुर नगरपालिकाका प्रमुख चक्र अधिकारी, पत्रकार, कलाकार लगायतको सहभागिता रहेको थियो ।