श्रमिक बालबालिकाको परिवारलाई सहयोग सामाग्री हस्तान्तरण

बाँके-बालश्रमिकरहित उप–महानगर बनाउने उद्देश्यले विभिन्न दातृ निकायको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालगन्ज उप–महानगर भित्र रहेका श्रमिक बालबालिकाको परिवारलाई शुक्रबार सहयोग सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपालगन्ज उप–महानगरको वडा नं। १०, ११, १२, १६ र १७ मा रहेका आर्थिक रुपमा बिपन्न श्रमिक परिवाको आयआर्जनमा सहजता ल्याउने उद्देश्यले किराना ब्यवसाय संचालनको लागि ८ परिवारलाई सामाग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तण कार्यक्रममा वडा नं. १२ का वडा अध्यक्ष सुवेदी, वडा नं. १० का वडा सदस्य नर बहादुर बिष्ट, वडा नं. ११ का वडा सचिब चन्द्रकुमार गोडीया र वडा नं. १७ का वडा सदस्य फिरोज बेहनाले वडामा सहयोग पाउने परिवारलाई सामाग्री हस्तान्तरण गरेका थिए ।
सहयोग सामाग्री प्राप्त गरेपछि बोल्दै वडा नं. १७ का स्माईल बागवानले खुसी ब्यक्त गरे । उनले प्राप्त सामाग्रीले दैनिक आयमा सहजता ल्याउने बताए ।
त्यसैगरी वडा नं. १२ का ओमबहादुर थापाले आर्थिक अभावमा केही सामान राखेर घुम्ती पसल संचालन गरिरहेको बताउदै सामाग्री पाउदा ब्यवसाय बढ्ने बताए । उनले ब्यवसायलाई निरन्तरता दिने र बालबालिकाहरुलाई बिद्यालय पठाउने प्रतिबद्धता गरे ।
नेपालगन्ज उप–महानगरको आयोजना, युनिसेफको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सञ्चालित बालश्रम न्यूनिकरण तथा बालसंरक्षण कार्यक्रम अन्तरगत सम्पन्न कार्यक्रमको संचालन बासका उपनिर्देशक हेमराज भट्टले गरेका थिए ।
कार्यक्रम अन्तरगत बासले पाच ओटै वडाका ८ परिवारलाई किराना सामाग्री, ५ परिवारलाई बाख्रा, १ परिवारलाई कस्मेटीक र १ परिवारलाई सिलाई कटाई ब्यवसाय संचालन गर्न मेसिन प्रदान गर्नेछ । यस अघि सहयोग पाउने परिवारलाई एकदिने ब्यवसायीक परामर्श तथा उद्यमी तालिम दिईएको थियो ।