राधापुरलाई तरकारीको पकेट क्षेत्र बनाईदै

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई तरकारीको पकेट क्षेत्र बनाउनका लागि वडा कार्यालयले पहल अघि बढाएको छ । राधापुरस्थित वडा कार्यालयमा अगुवा ४० जना किसानलाई तरकारी खेती तालिम पछि शुक्रबार उन्नत जातको बिउ, मल तथा अन्य कृषि उपकरण सहयोग स्वरुप उपलब्ध गराइएको छ । कृषि तालिममा सहभागी ४१ जना किसान मध्ये २३ जना किसानले ब्यावसायिक तरकारी खेती गर्ने चाहना राखेपछि खजूरा गाउँ पालिकाको सहयोगमा समृद्धिका पाईला बाँकेले शुक्रबार किसानहरुलाई सहयोग गरेको हो । किसानहरुलाई उन्नत जातको बिउ, मल, जिंक, पोली ब्याक उपलब्ध गराइएको छ । यसैगरी प्रत्येक किसानलाई ब्यावसायिक तरकारी खेतीका लागि ब्यक्तिगत प्रयोजनका लागि स्पे्र ट्यांकी समेत सहयोग गरिएको छ ।
तरकारी खेती तालिममा सहभागी कृषकहरुका लागि शुक्रबार बिउ तथा सामाग्री बितरण कार्यक्रममा वडा अध्यक्ष सुमन मल्ल, सचिव चिरञ्जीवी पाण्डे, समृद्धिका पाईलाका अध्यक्ष किरण ढकाल लगायतले किसानलाई बिउ, मल तथा कृषि उपकरण हस्तान्तरण गरे । राधापुरका अगुवा किसान मगनसिंह थापा र नवराज थापाले आर्थिक उपार्जनका लागि तरकारी खेती किसानका लागि लाभदायक भएको बताए। कृषक समूह महासंघका केन्द्रीय सदस्य मगनसिंह थापाले भने,– राधापुरलाई तरकारी खेतीको माध्यमबाट चिनाउन चाहन्छौं ।
स्थानीय कृषक अनु थापाले भारतमा झै नेपालमा पनि सरकारले किसानलाई मल, बिउ र अन्य कृषि उपकरणमा सहयोग गर्नुपर्ने माग गरिन् ।खजूरा गाउँपालिकाका अध्यक्ष सुमन मल्लले ब्यावसायिक तरकारी खेतीमा किसानको सहभागिता बढाएर राधापुरलाई तरकारी पकेट क्षेत्र बनाउने योजना रहेको बताए ।
उनले आगामी दिनमा ब्यावसायिक किसानलाई थप सहयोग गरिने बताए । वडा सचिव चिरञ्जीवी पाण्डेले वडा कार्यालयले किसानको आर्थिक जीवनस्तर सुधारका लागि काम गरेको बताउँदै सहयोगको सहि सदुपयोग हुनपर्नेमा जोड दिदै राधापुर तरकारी खेतीका लागि उपयुक्त रहेको बताए ।