प्रदेश ५ सरकारको नीति कार्यक्रम सार्बजनिक

बुटवल । प्रदेश ५ सरकारले नीति कार्यक्रम सार्बजनिक गरेको छ। प्रदेश सरकारको नीति कार्यक्रम आइतबार प्रदेश सभाको बैठकमा पेश भएको हो । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति कार्यक्रम पेश गरे। सरकारको नीति कार्यक्रम पेश गर्दै उनले जनताको विकास र समृद्धिको आकांक्षालाई प्रदेश सरकारका माध्यमबाट पूरा गर्ने जिम्मेवारी शुरु भएको बताए। संघीयताको कार्यान्वयनले सिंहदरबारको अधिकार जनताको नजिक पु¥याईएको भन्दै यस्को सफल प्रयोगबाट नै जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न सकिने झाले बताए ।
प्रदेश सरकारले स्थिती पत्रलाई समेत आधार बनाएर प्रदेश सरकारले प्रादेशिक विकासको अवधारणा तयार गरी योजनाबद्ध विकासको बाटोमा अघि बढ्ने नीति लिएको छ । सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमागर्ने कुरालाई उच्च प्राथमिकता दिएको छ । रोजगारीका अवसरहरु सिर्जना गरी गरिबी अन्त्य गर्ने, आर्थिक र सामाजिक क्रियाकलापमा सबैको समान पहुँच सुनिश्चित गर्ने कुरालाई प्रादेशिक विकासको रणनीतिका रुपमा अवलम्वन गरिने जनाएको छ ।
प्रदेश न ५ समग्र विकासमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने सरकारको नीति छ । सरकारले प्रदेशको समृद्धिको आधार पर्यटन व्यवसायलाइ नै अघि सारेको छ भने संगै कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकास रणनीति अवलम्वन गर्ने जनाएको छ ।

त्यस्तै विकास र समृद्धिका लागि सुशासन अनिवार्य तत्वका रुपमा लिइएको छ ।सुशासन प्रवर्धन गर्न र सेवा प्रवाहलाई छिटो, छरितो र सरल बनाउने उद्देश्यले सूचना प्रविधिको अधिकतम उपयोग गर्ने जनाएको छ । सरकारले प्राकृतिक प्रकोपका जोखिमयुक्त क्षेत्र पहिचान गरी नकारात्मक प्रभाव न्यूनीकरण गर्ने योजना तयार गरी कार्यान्वयनमा ल्याउने र प्राकृतिक प्रकोप प्रभावित नागरिकहरुलाई तत्काल राहत दिन प्रादेशिक विपद् व्यवस्थापन कोष स्थापना गरिने बताएको छ ।प्रत्येक स्थानीय तहका केन्द्रहरुलाई मोटरबाटोले जोड्ने पहुंच मार्ग निर्माण कार्य अघि बढाउने सरकारको नीति छ । प्रदेश ५ लाई आर्थिक र सामाजिकरुपले समृद्ध प्रदेश बनाउने लक्ष्यका साथ “सम्वृद्ध प्रदेश, खुशी जनताको लक्ष्य अघि बढाइन उल्लेख गरिएको छ । आजै बसेको प्रदेशसभाको १२ औं बैठकमा मुख्य मन्त्री शंकर पोखरेलले आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रम सम्बोधनको प्रति टेबल गरेका थिए ।प्रदेश सांसद नारायण आचार्यले धन्यबाद प्रस्ताब र अर्का प्रदेश सांसद तुलाराम घर्ती मगरले समर्थन गरेका थिए । साथै बैठकले धन्यबाद प्रस्ताब पारित गरेको छ । प्रदेशसभाको अर्काे बैठक भोली चैत्र २६ गते सोमबार दिनको १ बजे बस्नेछ ।