भारत भ्रमण बारे प्रधानमन्त्री ओलीको यस्तो छ १६ बुँदे लिखित वक्तव्य

काठमान्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको तीन दिने राजकीय भ्रमणबारे लिखित वक्तव्य जारी गरेका छन्। आइतबार भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लिखित वक्तव्य दिएका हुन्। प्रधानमन्त्रीको वक्तव्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वाचन गरेर सुनाएका थिए। प्रधानमन्त्री ओलीले भारत भ्रमणपछि त्यहाँ भएका सम्पूर्ण क्रियाकलापलार्इ लिखित रुपमा सार्वजिनक गरेका हुन्। वक्तव्यमा उनले भारत भ्रमणका क्रममा भएका भेटघाट, कुराकानी र सहमति प्रस्तुत गरेका छन्। यस्तो छ प्रधानमन्त्रीको सचिवालयले सार्वजिनक गरेको लिखित वक्तव्य:

 

 

 

•    मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २३ देखि २५ चैत्र २०७४ भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केको छु ।

•    भ्रमणदलमा संलग्न एवं अन्य सञ्चारकर्मी मित्रहरूबाट भ्रमणका सम्बन्धमा यहाँहरू निरन्तर अवगतै हुनुहुन्छ । भ्रमण सम्बन्धी संयुक्त वक्तव्य समेत जारी भइसकेको छ । तथापि म केही विषयमा थप जानकारी गराउन चाहन्छु ।

•    निकट छिमेकी एवं अन्य मित्रराष्ट्रहरुसंग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रबर्द्धन गर्ने बर्तमान सरकारको नीति छ । यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रविन्दुमा राखेर भारतीय नेताहरूसँग मेरो खुलस्त र सौहार्द्रपूर्ण रूपमा कुराकानी भयो ।

•    भारतका प्रधानमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरीय ‍औपचारिक वार्तामा विगतमा भएका सम्झौता एवं सहमतिको प्रभावकारी कार्यान्वयन मार्फत आपसी सहयोगका क्षेत्रमा ठोस प्रगति हासिल गर्ने विषयमा हाम्रो जोड रह्यो । नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो वारेमा तीनवटा अलग– अलग संयुक्त घोषणा समेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ ।

•    विषयगत रुपमा उर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने वारेमा दुवै पक्षबीच सहमति भयो । महाकाली सन्धि अनुसार नेपालले तत्काल पाउनुपर्ने सिंचाइ लगायतका सुविधाका लागि पूर्वाधार निर्माण गरिदिन समेत थप पहल भएको छ । नेपाल र भारतका बीच इनर्जी ब्याङ्किङको अवधारणामा आधारित विद्युत व्यापारको प्रस्ताव गरेको छु ।

•    दुई मुलुकबीच कनेक्टिभिटी प्रबर्द्धन गर्नका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्ग सम्बन्धी परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । भूकम्प पश्चातको पुनर्निर्माण एवं नेपालको प्राथमिकताका परियोजनाहरुमा भारतीय सहुलियतपूर्ण ऋणको उपयोगका विषयमा समेत थप पहल गरिने भएको छ ।

•    नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय दुई पक्षीय छलफलका अलावा भारतीय व्यापारिक समुदाय, विद्वतवर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तर्क्रियामा समेत प्राथमिकताका साथ उठाएको छु । यस परिप्रेक्ष्यमा १९९६ को व्यापार सन्धिका प्रावधानको सान्दर्भिकता समेत स्पष्ट पारिएको छ । नेपालको व्यापार घाटाको दीर्घकालीन समाधानका लागि दुई पक्षका बीच निरन्तर सम्पर्क र छलफल जारी रहनेछ ।

•    साथै, पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुवान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त नीरिक्षण टोली खटाउन एवं महाकाली पुल लगायत अन्य पूर्वाधार निर्माणलाई तीब्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको छ । साथै, भारतले नेपालका लागि थप हवाई प्रवेश विन्दुहरु उपलव्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने वारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामो समयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु । वैदेशिक लगानी एवं पर्यटन प्रबर्द्धनका निमित्त निजी क्षेत्रको सक्रिय सहभागिताका लागि समेत पहल भएको छ ।

•    भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा वीरगंज एकीकृत जाँच चौकीको उदघाटन गर्यौ । यसवाट नेपाल र भारतबीच व्यापार एवं पारवहन सहजिकरणका साथै मानिसहरूको आवागमनमा सुविधा हुनेछ ।

•    यस अतिरिक्त, सार्क, विमष्टेक एवं बीबीआइएन प्रकृयालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राख्दै सकारात्मक पहल गरिएको छ ।

•    भारतका प्रधानमन्त्रीसँगको औपचारिक वार्ता पश्चात् हामीले संयुक्त रूपमा प्रेसलाई सम्बोधन गर्यौं । भारतीय प्रधानमन्त्रीले नेपाली जनताले लोकतन्त्र तथा संघीय व्यवस्था प्रति देखाएको विश्वास र नेपालमा हालै सफलतापूर्वक सम्पन्न तीनवटै तहको निर्वाचनको खुलेर प्रशंसा गर्दै यो सन् २००६ देखि शुरु भएको परिवर्तनको उत्कर्ष भएको बताउनुभयो । उहाँले यसका लागि नेपाली जनता र सरकारलाई बधाई ज्ञापन गर्नुभयो ।

•    भ्रमणको अवधिमा भारतका महामहिम राष्ट्रपति एवं महामहिम उपराष्ट्रपतिका साथै भारत सरकारका बरिष्ठ मन्त्री एवं उच्च अधिकारीहरुसँग समेत मेरो भेटघाट भई आपसी हितका विषयमा छलफल भयो । यसका अतिरिक्त भारतीय राष्ट्रिय काँग्रेस एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायत नेपालका मित्रहरूसँग मेरो भेट भयो ।

•    नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा म सहभागी भएँ । साथै, भारतका व्यापारिक समुदाय तथा बुद्धिजीवी समूहसँगको अलग अलग अन्तरक्रिया एवं नेपाली समुदाय र दुवै मुलुकका चलचित्र कलाकारहरूसँगको मेरो भेटघाट फलदायी रह्यो । इन्डिया फाउन्डेसनले मेरो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा मैले २१औं शताव्दीका लागि नेपाल-भारत सम्बन्धको दृष्टिकोण राखें । त्यसलाई बौद्धिक जगत र भारतीय पक्षले सकारात्मक रूपमा लिएको छ ।

•    भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा म सहभागी भएँ । मानार्थ डक्टर्स अफ साइन्सको उपाधि प्रदान गरेकोमा म विश्वविद्यालयप्रति आभारी छु ।

•  भारतीय पक्षसँग छलफल एवं विचार विमर्श हुँदा हरेक विषयमा नेपाल र नेपालीको मर्यादा र हितलाई उच्च प्राथमिकतामा राखिएको छ। .

  •  मेरो भारतभ्रमणबाट नेपाल र भारतका बीच विश्वासको अभिवृद्धि भएको छ । साथै,यसबाट द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुनुका साथै आगामी दिनमा समानता, आपसी सम्मान र हितका आधारमा सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउनर सहयोगविस्तार गर्न योगदान पुग्ने मैले विश्वास लिएको छु ।