बाँके। जनआन्दोलन २०६२/०६३ का शहीद हरिराज अधिकारीको शालिक १२ वर्षपछि सोमवार नेपालगन्जको महेन्द्र बहुमुखि क्यम्पस परिसरमा अनावरण गरिएको छ । प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका तत्कालिन सभापति अधिकारीको २०६२ चैत २६ गते आन्दोलनका क्रममा नेपालगन्जको धम्बोझी चोक नजिक निधन भएको थियो।
१२ वर्ष पछि अधिकारीको शालिक सोमवार महेन्द्र बहुमुखी क्याम्पस परिसरमा रहेको हरि स्मृति भवनको सामुन्ने क्याम्पस प्रमुख गणेशकुमार रेग्मी र सहिद पत्नी अञ्जु शर्मा (अधिकारी) ले संयुक्त रुपमा सालिक अनावरण गरेका हुन ।
सरकार र राजनीतिक दलको चरम बेवास्ताका कारण १२ वर्ष सम्म शालिक स्थापना हुन नसकेपछि शहीद पत्नी अञ्जु शर्मा(अधिकारी)आफैँले खरिद गरेर ल्याएको उक्त शालिक हिजो अनावरण गरीएको छ।
शहीद हरिराजको शालिकलाई सुरुमा स्थानीय ट्राफिक चोकमा राख्ने विषयमा करिव निश्चित भइसकेको थियो। उक्त ठाउँलाई ‘शहिद हरिराज अधिकारी’ चोक नामाकरण समेत गरेर सालिक राख्न सर्वदलीय र सर्वपक्षीय निर्णय भएपछि शहिद पत्नी अञ्जुले जगको पुजा गराएर पिलर समेत स्थापना गरेकी थिइन । तत्कालिन नेपालगन्ज नगरपालिकाले पनि सालिक स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको अवस्थामा चारलेन सडक बिस्तार गर्ने निहुँमा सडक डिभिजन कार्यालयले अनुमति नदिएको अञ्जुले बताइन ।
चारलेन सडकको हरिराज अधिकारी चोकमा सालिक अनावरण गर्न नपाएपछि अञ्जुले क्याम्पस परिसरमै भएपनि अनावरण गरेको बताइन।