भारतको कोठीबाट पाँच नेपाली चेलीको उद्दार

बाँके– भारतको कोठीमा बेचिएका पाँच जना नेपाली युवतीहरुको भारतको आग्राबाट उद्दार गरिएको छ । माइती नेपालले भारतीय प्रहरी र विभिन्न सङ्घ संस्थाहरुसँगको सहकार्यमा उनीहरुको उद्दार गरेको हो । उद्दार कार्यमा संलग्न माइती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइरालाका अनुसार सिन्धुपाल्चोकका २ जना, नुवाकोटका २ जना तथा धादिङकी एक जना युवतीलाई उद्धार गरिएको हो ।उद्दार गरिएकी १७ वर्षीया किशोरीले आफू दुई वर्ष अगाडि बेचिएको जानकारी दिएको माइती नेपालका क्षेत्रीय संयोजक कोइरालाले बताए ।

उनीहरुमध्ये धादिङ्गकी २२ वर्षीया युवतीले गाउँकै दिदी नाता पर्नेले कोठीमा पुर्‍याएको बयान दिएकी छन् । अन्य चार जनालाई भने उनीहरुका केटा साथीले कोठीमा पुर्‍याएको उनीहरुले बताएका छन् । माइती नेपालले भारतीय प्रहरीको सहकार्यमा ५ जना नेपालीसहित चार जना भारतीय युवतीको समेत उद्दार भएको छ । नेपाली र भारतीय ९ जना पीडित युवतीसँगै कोठी संचालक भारत आग्राकी प्रियादिपलाई समेत नियन्त्रणमा लिइएको छ ।चैत २१ गते उद्दार गरिएका नेपाली र भारतीय युवतीहरुलाई हाल आग्रास्थित नारी निकेतनमा राखिएको छ । आग्राको अदालतमा मुद्धा चलिरहेको र युवतीहरु बारम्बार अदालतमा जानुपर्ने भएका कारण हाल उनीहरु नारी निकेतनमा बसेका हुन् ।

१७ वर्षीया युवती दुई वर्षअघि नै कोठीमा बेचिएका कारण नेपालबाट सानै उमेरमा किशोरीलाई झुक्काएर भारतका कोठीमा लगेर बेच्ने र त्यहाँ उनीहरुलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरेको पाइएको माइती नेपालले जनाएको छ ।माइती नेपालले झण्डै दुई महिनादेखिको अथक पहलपछि युवतीहरुको उद्दार हुन सकेको जनाएको छ । नेपाली युवतीहरुलाई कोठीमा राखिएको सूचनाका आधारमा दिल्ली हुँदै आग्रा पुगेको माइती नेपालको टोलीले जोखिम मोलेर उद्धार गर्न सफल भएको हो ।