सुर्खेतमा घुससहित पक्राउ परे, मुद्दा फाँटमा कार्यरत खरिदार

सुर्खेत। मालपोत कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र खरिदार ओमबहादुर सुनार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरुलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । मोहीबापत प्राप्त हुने जग्गाकोे काम गरिदिन घुस मागेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यस्तै काठमाडौंको बुढानिलकण्ठ नगरपालिकका उपसचिव लिला अधिकारी र इन्जिनियर बिजेन्द्र श्रेष्ठ ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । बुढानिलकण्ठको बाँडेपाखामा पानी ट्यांकी निर्माण सकिएपछि अनुभवपत्र लिन खोज्ने सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदै गरेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।