बाँके । आगामी असार मसान्त देखि यातायात समिति खारेज गर्ने सरकारी निर्णयप्रति बाँकेस्थित यातायात व्यवसायीले आपत्ति जनाएका छन् । भेरी अञ्चल यातायात व्यवसायी संघ नेपालगन्जको ३१ औं साधारणसभामा सहभागि व्यवसायीहरुले वैकल्पिक व्यवस्था नगरी यातायात व्यवसायी समिति खारेज गर्न खोज्नु सरकारको लागि समेत दुर्भाग्य हुने बताए।
संघका अध्यक्ष एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव डेकनाथ गौतमले सिण्डीकेटको नाममा सरकारले पञ्चायती शैलीमा निर्देशिका ल्याएर यातायात व्यवसायलाई तहसनहस पार्न खोजेको आरोप लगाए ।
‘यातायात व्यवसायीले सिण्डीकेट गरे भन्नु झुट हो, अर्वौ लगानी गरेर हामीले लाखौं जनालाई रोजगारी प्रदान गरिरहेका छौं यो कुरा राज्यले बुझ्नुपर्दछ।’–गौतमले भने–‘वैकल्पिक व्यवस्था समेत नगरेर समितिको नविकरण रोक्न खोज्नु दुर्भाग्य हो ।’
व्यवसायीको हक हित र संरक्षणको लागि महासंघ चरणवद्ध रुपमा आन्दोलनमा होमिएको उनले बताए। गाडी ग्यारेजमा थन्क्याएर देशभरका व्यवसायी आन्दोलनमा उत्रिने उपमहासचिव गौतमले जानकारी दिए ।
नेपालगन्जका पुराना यातायात व्यवसायी लालमणी भण्डारीले सरकारले यातायात व्यवसायीलाई सहुलियत दिनुको सट्टा समिति खारेज गरेर अस्तव्यस्त बनाउन लागेको आरोप लगाए। ‘समिति खारेज हुँदा कर्मचारी कहाँ जाने ? सम्पत्ति कहाँ जाने र व्यवसायीको संरक्षण कस्ले गर्ने ?’–भेरी अञ्चल यातायात व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका भण्डारीले भने–‘व्यवसायीको संरक्षणका लागि समिति बनेका हुन्, व्यवसायी एक्लैले बस सञ्चालन गर्न सक्दैन।’
कार्यक्रममा संघका कानूनी सल्लाहकार प्रमोद धिताल,संघका वरिष्ठ उपाध्यक्ष शोभाकर पौडेल,महासचिव जुनबहादुर थापा लगायतले बोलेका थिए ।साधारणसभाको बन्द सत्रमा भेरी अञ्चल यातायात व्यवसायी संघको आन्तरिक गतिविधि, कार्य योजनाका सवालमा छलफल भईरहेको छ ।