डोटी । डोटीमा करेन्ट लागेर चारजनाको मृत्यु भएको छ। मंगलबार विद्युत्को पोल गाड्ने क्रममा डोटी आदर्श गाउँपालिका–१ बाँझकाकनी चासीमा करेण्ट लागेर चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, नेपाल प्रहरीमा कार्यरत २४ वर्षीय लोकेन्द्र खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षीय दीपेन्द्र खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। गम्भरी घाइते भएका सुरेस खड्काको दीपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन्। विद्युत्को शाखा लाइनको पोल सार्ने क्रममा उनीहरूलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।
धामीले भने ‘सबै मिलेर शाखा लाइनको विद्युत्को पोल परिवर्तन गर्दै रहेछन, उक्त पोल थाम्न नसकेर जनिकै रहेको ११ हजार भोल्टको हाइटेन्सन लाइनमा ठोक्कियर करेन्ट लागेको रहेछ।’ विद्युत कार्यालयलाई जानकारी नगराई पोल परिवर्तन गर्न खोजेका कारण यस्तो दुर्घटना भएको नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रका प्रमुख बुद्धीनाथ झाले बताए।
प्रमुख झाले भने ‘सोमबारबाट एक विद्युत्को पोल खाली भएको थियो। त्यहाँबाट झिकेर अर्कै ठाउँमा लैजान खोजेका रहेछन्। हाइटेन्सन लाइनमा फलामको पोल लागेपछि करेन्ट लागेको रहेछ ।’ उनले विद्युत्को पोल आफू खुसी प्रयोग गर्ने नभई आवश्यकता भएमा बुधुत प्राकिरणमा जानकारी गराउनु पर्ने बताए ।