बाँके । ९९ प्रतिशत थारु समुदायमा देखा पर्ने सिकलसेल कोहलपुर नगरपालिकाको विभिन्न विद्यालयमा परीक्षण गर्दा १ सय ४२ मा सिकलसेल एनिमिया संक्रमण भएको पाइएको छ। कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु श्री राम मा.वि. हवलदारपुर, जनता मा.वि. मैटहवा, त्रिभुवन मा.वि. कोहलपुर, लक्ष्मी मा.वि. वर्दहवा, ज्ञानज्योति मा.वि. चपरगौडी र सिद्धार्थ आदर्श मा.वि. रझेना गरी ६ वटा विद्यालयमा सिकलसेल एनिमियाको लागि रक्त परिक्षण गरिएको थिायो । ती विद्यालयका १ हजार ३ सय ५३ बालबालिकाको रगत परीक्षण गरिएको थियो। थारू समुदायमा महामारीका रूपमा फैलिएको सिकलसेल (रक्त अल्पता) का बिरामी पहिचान गर्न नगरपालिकाले रगत जाँच्न थालेको हो। बालबालिकाको रगत परीक्षणका लागि नगरपालिकाले विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरेको थियो। रोग पहिचान नहुँदै सिकलसेल लागेकाको मृत्यु हुने गरेकाले रगत परीक्षण गरिएको नगरपालिकाले जनाएको छ।
‘समयमै यसबाट पीडित बालबालिकाको पहिचानका लागि रगत परीक्षण गरिएको हो। संक्रमण देखिएका बालबालिकालाई उपचारका लागि अस्पताल जान सुझाव दिइएको छ ।’– नगरपालिका उपप्रमुख सञ्जुकुमारी चौधरीले भनिन्। उनका अनुसार कोहलपुरस्थित लक्ष्मी माविका ३ सय २२ बालबालिकाको रगत परीक्षण गर्दा ३३ मा संक्रमण पाइयो। त्रिभुवन उमाविका १ सय ८९ को रगत परीक्षण गर्दा १५, ज्ञानज्योति मावि चप्परगौडीका १ सय ६१ मा १२, जनता मावि मैटहवाका २ सय २५ मा २५ मा सिकलसेल एनिमिया संक्रमण पाइएको छ। श्रीराम मावि बैजनाथपुरका १ सय ६८ मा ११, सगरमाथा माविका १ सय २६ मा १३ र सिद्धार्थ आधारभूत माविका १ सय ६२ मा ३३ बालबालिकामा सिकलसेल भेटिएको हो।
वंशाणुगत उक्त रोगको पहिचान समयमै नहुँदा बिहेबारीपछि जन्मिने सन्तानमा सर्ने गरेको छ। उक्त रोगका बिरामीको शरीर, हाडजोर्नी दुख्ने, पटकपटक जन्डिस, रक्त अल्पता र निमोनियाको समस्या देखिने चिकित्सक बताउँछन। सिकलसेलको पहिचान हुन नसक्दा अधिकांश पीडितले बाथ, युरिकएसिड, हाडजोर्नी र नसा रोगको औषधि सेवन गर्न बाध्य छन्। सरकारले सिकलसेल एनिमियालाई महामारीका रूपमा स्वीकार गरी थारू समुदायका लागि विशेष कार्यक्रम ल्याएको छा। सरकारले यस रोगका बिरामीलाई १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार गर्ने घोषणा पनि गरेको छ।
त्यसका लागि परिचयपत्र जारी गरेको छ। रूपन्देही पश्चिमका दाङ, बर्दिया, कञ्चनपुर र कैलालीमा पुस्तौंदेखि एकै स्थानमा बस्दै आएका थारू समुदायमा उक्त रोगको संक्रमण देखिएको चिकित्सकले बताए। उक्त रोग पुस्तान्तरण हुँदै सर्दै गएपछि महामारी मानिएको हो। स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफ अनुसन्धान प्रयोगशालाले थालेको अध्ययनमा पश्चिम नेपालका अविवाहित थारू समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटेरोजाइगोस ट्रेट पाइएको जनाएको छ।
उक्त अनुसन्धानले ३ लाखभन्दा बढी थारू समुदायका व्यक्तिमा सिकलसेल रोगको गुण पाइएको र समयमै डीएनए परीक्षण गरी जेनेटिक परामर्शको व्यवस्था नगर्ने हो भने मुलुकले ठूलो क्षति बेहोर्नु पर्ने चेतावनी दिएको छ। भेरी अञ्चल अस्पतालमा हालसम्म ५ सयभन्दा बढी सिकलसेलका बिरामी फेला परिसकेका छन्। तीमध्ये अझै डेढ सय अस्पतालको सम्पर्कमा छन्।
भेरी अञ्चल अस्पतालमा सिकलसेलको नमुना परीक्षण व्यवस्था छ। उक्त जाँचका लागि निजी प्रयोगशालाले २ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन्। भेरी अञ्चल अस्पतालले नाम दर्ता एक हजार मात्र लाग्ने र अरु सबै सेवा निःशुल्क गरिने अस्पतालले बताएको छ । सिकलसेल एनिमिया लागेमा मानिसमा रक्त अल्पता, जन्डिस, जोर्नी दुख्ने, फियो सुन्निने, एक्कासि छाती तथा पेट दुख्ने समस्या देखापर्छ।