बाँके । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अर्काको भवन भाडामा लिएर अहिलेकै ढाँचामा स्थायी राजधानी नचल्ने प्रष्ट पारे । ‘चुनावका बेला सबै नेताले आफ्नो ठाउँमा राजधानी बनाउँछु भन्नुभयो होला, तर सधैंभरि त्यही कुरालाई बोकेर हिँड्न हुंदैन’ मुख्यमन्त्रीले पोखरेलले भने ‘यदि कसैले त्यसो गर्छ भने ऊ सही अर्थमा नेता (नेतृत्व) हुनसक्दैन ।’ प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्नेमा बहस हुनुपर्ने बताएका छन् ।
आइतबार बुटवलमा अनलाइन सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उनले राजधानी कहाँ बनाउने भन्ने सोँच्ने हो भने समस्या आउने दावी गरे ।
स्थायी राजधानी तोक्न जनताको राय सुझाव लिएर तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी प्रदेशसभाले विशेष समिति गठन गरिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले २० र २५ वर्षमा नयाँ राजधानी खोज्नुपर्ने स्थिति नआउने गरी निर्णयमा पुग्नुपर्ने धारणा राखे ।
स्थायी राजधानी सिफारिस गर्न गठित समितिमा रहेका सांसदहरुले पनि आफू कुन ठाउँको हुँ भन्ने आधारमा आफ्ना कुरा नराखी जनताबाट राय सुझाव लिई यथार्थ प्रतिवेदन बुझाउनुपर्नेमा जोड दिए । ‘मैले संसद वैठकमै माननीय ज्यूहरुलाई आफ्नो कुरा नराख्नूहोला, जनताका कुरा मात्र लिनु होला भनेको छु’ उनले भने ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार कमजोर र अधिकार विहीन छ भन्ने कुरा सत्य नभएको दावी गर्दै संविधान र कानुनले प्रदेश सरकारलाई पनि उत्तिकै अधिकार दिएको बताए । ‘शिक्षा, स्वास्थ्य, वन, पर्यटन, रोजगारी, विकास आयोजना हरेक क्षेत्रमा केन्द्रभन्दा प्रदेश सरकारमा अधिकार र अवसर धेरै छन्’ मुख्यमन्त्री पोखरेलले भने ‘तर धेरैले संविधानले प्रदेशलाई दिएका अधिकार सूची नपढी कमजोर र अधिकारविहीन भनेर एकोहोरो भ्रम फैलाइरहेका छन् जुन सत्य होइन ।’
कर्मचारी प्रशासनको अहिलेको मानसिकता काठमाडौं केन्द्रित भए पनि अबको दुई वर्षपछि केन्द्रमा भन्दा प्रदेशमा अवसर छ भन्ने बुझेर मोफसलमा आउनका लागि होडबाजी गर्ने अवस्था आउने मुख्यमन्त्रीले दावी गरे ।
संघीयता कार्यान्वयनमा आएसंगै जताततै कर बढ्यो भनेर आलोचना भइरहेको भन्दै मुखयमन्त्रीले प्रदेश ५ को हकमा कुनै पनि करको दर नबढाइएको बरु कतिपय करहरु हटाइएकाले भ्रममा नपर्न आग्रह गरे ।
निकासी कर, सडक कर हटाइएको उनले जानकारी गराए । प्रदेश सरकारले नीति कार्यक्रम र बजेट ल्याउँदा राजनीतिक आग्रह र निर्वाचन क्षेत्रको चुनावी नतिजाका आधारमा नभई योजनावद्ध ढंगले आवश्यकताका आधारमा काम गरिएको बताए ।
जितगढी किल्लाबारे गहिरो चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले यसको समुचित विकास गर्न सके यो अन्तराष्ट्रिय पर्यटक तान्न सकिने ठाउँ बन्ने बताए ।
‘अरु देशमा भएको भए यो टुरिस्ट हब हुन्थ्यो हाम्रोमा कवाड राख्ने थलो बनेको छ’ मुख्यमन्त्रीले भने, ‘जितगढी प्रदेशको मात्र नभई राष्ट्रकै गहना हो, यसलाई कसरी विकास गर्ने भन्ने सबैले सोचौं ।’
अनलाइनखबरबाट