बुटवल। प्रदेश नं। ५ को सरकारले प्रदेशको योजनाबद्ध विकासका लागि आवधिक योजनाको तयारी शुरु गरेको छ । सरकारको आवधिक योजना तर्जुमा २०७६/७७ देखि २०८०/८१ तर्जुमा सम्बन्धी पूर्व तयारी गोष्ठी बिहीवार बुटवलमा सम्पन्न भएको हो ।
गोष्ठीमा मुख्यमन्त्री शङ्कर पोखरेलले निर्वाहमुखी उत्पादन प्रणालीमा रहेको कृषिलाई व्यावसायिकरण गरी बजारीकरण गर्ने सरकारको मुख्य रणनीति रहेको बताए । उनले कृषिको ब्यवसायीकरण, आधुनिकीकरण र बजारीकरण नै दीगोपना भएको बताउँदै भने, ‘हाम्रो रणनीति भनेको कृषिको व्यावसायिक विकास गर्नु हो ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेलले प्रदेश योजना आयोगलाई राष्ट्रिय योजना आयोगद्वारा आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै प्रदेश योजना आयोगले पनि राष्ट्रिय योजना आयोगसँग कसरी समन्वय गर्ने स्पष्ट हुनु जरुरी रहेको बताए ।
प्रदेशका प्रमुख सचिव डा. तीर्थ ढकालले योजना दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा पूर्व तयारी गोष्ठी आयोजना गरेको बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा। प्रकाश श्रेष्ठले अवधारणापत्र प्रस्तुत गरे । उक्त अवधारणपत्रमा प्रदेशको आर्थिक सामाजिक स्थितिसहित ०७५ चैतसम्ममा योजनाको पूर्ण दस्तावेज तयार गरिने उल्लेख गरिएको छ । प्रदेश सरकारले निर्माण गर्न लागेको र प्रदेशको यो आवधिक योजना सङ्घको १५औँ योजनासँग तालमेल मिलाउन आवधिक योजना पाँचवर्षे रहने उल्लेख गरिएको छ ।
यस्तै ‘समृद्ध प्रदेशः खुशी जनता’ बनाउने योजनाको दीर्घकालीन सोच रहेको र समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित सन्तुलित र दीगो विकासका माध्यमबाट आर्थिक वृद्धिदरलाई उच्च पार्दै प्रदेशवासी जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु योजनाको मुख्य लक्ष्य छ ।
यस्तै योजनाको उद्देश्य सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्नु रहेको र आगामी पाँच वर्षमा विभिन्न परिमाणात्मक लक्ष्य हासिल गर्ने उल्लेख छ ।