एक किशोरी होटेलमा बलात्कृत, अर्की सामुहिकमा परिन


बाँके । बाँकेमा १३ वर्षिया बालिका बलात्कारमा परेकी छिन् । नेपालगन्ज उपमहानगरपालिका वडा नंं ११ स्थित सुरेन्द्र होटल एण्ड लजमा मजदुरी गर्ने आमासँग बस्दै आएकी बालिका बलात्कृत भएकी हुन् । उनलाई विहीवार अपरान्ह होटल मालिकका छोरा १८ वर्षिय सुरेन्द्र जोशीले होटलमा कोही नभएको मौका पारी बलात्कार गरेको खुल्न आएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

नेपालगन्ज शिक्षण अस्पतालको सामुन्ने केही हप्ता अघिमात्र सञ्चालनमा आएको उक्त होटलमा होटल सञ्चालक बाबु पुरन र पीडित बालिकाकी आमा होटलको सामान किन्न सीमावर्ती बजार भारतको रुपैडिहा गएको मौका पारी सुरेन्द्रले ती बालिकालाई कोठामा लगेर जवर्जस्ती बलात्कार गरेको पाईएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

होटलमा कोही नदेखेपछि शंका लागेर कोठा खोलेर हेर्दा पीडितका काका पर्नेले रंगेहात फेला पारेका थिए । होटलमा होहल्ला भएपछि स्थानीयसँग आफूलाई सुरेन्द्रले जवर्जस्ती बलात्कार गरेको बालिकाले बताएकी थिईन् ।

बालिकाले जवर्जस्ती बलात्कार गरेको बताउनासाथ सुरेन्द्र फरार भएका थिए । उनलाई बिहीवार रातीनै पक्राउ गरिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरि परिवारको जिम्मा लगाएको र अभियुक्तलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

‘हिजो रातीनै पक्राउ गरी नियन्त्रणमा राखेका छौं । पीडितका तर्फबाट जाहेरी पर्नासाथ कानूनी प्रक्रिया अगाडि बढाउने छौँ ।’ –प्रहरी उपरीक्षक पौडेलले भने ।

बाँकेमा बलात्कारका घटना बढ्दै गएपछि प्रहरीले नागरिक सचेतनाका कार्यक्रम अगाडि सारेको उनले बताए ।

यसैबीच, कालिकोटकोको खाँडाचक्र-९ धिमुमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कालिकोटको सदरमुकाम मान्मबाट ३० किमि टाढा पर्ने खाँडाचक्र नगरपालिका-९ स्थित पाखाको धिमुमा धिमाल देवताको पैठ (जात्रा) हेरेर एक्लै घर फर्किने क्रममा बाटोमा बसेका १० जनाको समूहले १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

स्थानीय जनज्योति माविमा कक्षा १० मा अध्ययनरत किशोरीलाई बलात्कारमा संलग्न भएको आरोपमा बुधबार राति ८ जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न २ जना फरार छन्। पक्राउ पर्नेमा खाँडाचक्र-१० चौकी गाउँका १८ वर्षीय सर्जन बिक, २० वर्षीय पर्व बिक, १८ वर्षीय गोर्ख बिक छन्।

त्यस्तै, ९ नम्बर वडा पाखाका २२ वर्षीय जीवन बिक, २० वर्षीय नवीन बिक, १८ वर्षीय डिले परियार, २१ वर्षीय सुवास बिक, २० वर्षीय हर्ष बिकलाई पक्राउ गरेको जिल्ला कार्यालय कालिकोटका प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए।