भारतबाट ३७ चेलीको उद्दार, ३ जनालार्इ कोठीबाट निकालियो

file photo

बाँके । बेच्न लगिएको अवस्थामा भारतको उत्तर प्रदेशबाट ३७ जना नेपाली चेलीको उद्दार गरिएको छ। अन्य तीनजना चेलीलार्इ दिल्लीको एउटा कोठीबाट निकालेर उद्दारकर्मीले नेपाल ल्याएका छन्।

३७ चेलीलार्इ गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्दार गरिएको हो। दिल्ली र यूपीबाट उद्दार गरिएका सबै चेलीलार्इ माइती इन्डियाको टोलीले नेपालगञ्जस्थित माइती नेपालको कार्यालयलार्इ जिम्मा लगाएको छ।

माइती इन्डियाका संचालक बालकृष्ण पाण्डेका अनुसार ३७ जनालार्इ नेपालस्थित भारतीय दुतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्दार गरिएको हो। उद्दार गरिएका ३७ चेली सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायकाका जिल्लाका रहेको माइती नेपालले जानाएको छ।

उद्दार गरिएका घर जान चाहने चेलीलार्इ घर पठाउने र जान नचाहने चेलीलार्इ सिपमुलक तालिम दिने सेन्टरमा राखिने माइती नेपाल नेपालगन्का संयोजक केशव कोइरालाले बताए। उनका अनुसार नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय छ।

एक चेली वापत ४ लाख

एक नेपाली चेली भारतको कोठीमा पुर्‍याए बापत गिरोहले चार लाख लिने गरेको उद्दारकर्मीहरुले बताएका छन्।माइती भारतका संचालक बालकृष्ण पाण्डेका अनुसार उक्त गिरोहले नेपाली चेलीलार्इ यूपीमा दुर्इ दिनदेखि दुर्इ महिनासम्म यूपीमा राखेर दिल्लीको कोठी र खाडी मुलुक पुर्‍याउने गरेको थियो।

गिरोहका नाइके भारतीय

नेपाली चेली भारतको कोठीमा पुर्‍याउने गिरोहका नाइके भारतीय रहेको खुलेको छ। नाइकेसहित गिरोहका तीन सदस्य भारतीय प्रहरीको फन्दामा परिसकेको छन्।

गिरोहका दुर्इ नेपाली सदस्य फरार छन्। उनीहरुमध्य एकजना काठमाडौंमा र अर्का दुबइमा रहेको बताइएको छ।गिरोहका नेपाली सदस्यलार्इ पक्राउ गर्न इन्टरपोलमार्फत नोटिस जारी गरिएको छ।