बाँके । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब कुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य, सभ्य र सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको छ । प्रचारप्रसार उपसमितिद्वारा आज नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव विष्टले नेपालगञ्जको गौरब र प्रतिष्ठासंग जोडिएको प्रतियोगितालाई सफल बनाउन लाग्नु सबै बाँकेबासीको दायित्व भएको बताउनुभयो । ‘यो प्रतियोगिता यसअघिका भन्दा फरक, अविस्मरणीय, ऐतिहासिक र उपलब्धिमूलक हुन्छ,’ उहाँले भन्नुभयो, प्रतियोगितालाई सफल बनाउन सबै लागौं ।’
सदस्य सचिव विष्टले औपचारिक उद्घाटन बैशाख ५ गते एक भब्य समारोहका बीच नेपालगञ्ज रंगशालामा गरिने भएपनि केही खेलहरु भने चैत्र २७ गतेदेखि नै शुरु गरिने प्रतियोगितामा विभिन्न ३५ खेल समाबेश गरिएको जानकारी दिँदै उहाँले हक्की पुरुष, स्क्वास महिला र पुरुष तथा प्याराग्लाइडिङ्ग चैत्र २७ गतेदेखि नै शुरु हुने जानकारी दिनुभयो।
त्यस्तै बक्सिङ्ग पुरुष र महिला, बास्केट बल पुरुष र महिला, ब्याडमिन्टन, हक्की महिला, सुटिङ्ग, सफ्ट टेनिस, खो खो महिला र पुरुष तथा सफ्ट टेनिस चैत्रभित्रै शुरु हुनेछन । टेबल टेनिस, भलिबल पुरुष र महिला, जुडो, फुटबल महिला र पुरुष, साइक्लिङ्ग, फेन्सिङ्ग र क्रिकेट पुरुष तथा महिला उद्घाटन पूर्व शुरु गरिने सदस्य सचिव विष्टले जानकारी दिनुभयो । बैशाख ११ गते समापन हुने प्रतियोगितामा ५ हजार २ सय ११ खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका खेलहरु बाँके, बर्दिया, दाङ्ग, रुपन्देही, कपिलबस्तु, कास्की, काठमाण्डौ र ललितपुरमा खेलाइनेछ ।