नेकपा (एमाले )को आन्तरिक विवाद समाधान हुन नसकेपछि भोलि आइतबार बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो ।
आज ३ बजे बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे बैठकमा व्रिफिङ गर्नुभएको थियो । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमा मात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाउनु भएपछि पार्टीको आन्तरिक विवाद अब नसल्टिने करिब पक्का भएको छ । यद्यपि भोलिको बैठक अघिसम्म सहमतिको प्रयास जारी राख्ने नेता नेम्वाङले बताउनुभयो ।
बैठक भोलि आइतबार ३ बजेकालागि पुनः बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । आज करिब पौने घण्टा चलेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवाद समाधानकै विषयमा केन्द्रित भएर छलफल भएको नेता तामाङले जानकारी दिनुभयो । बैठकको तीन वटा प्रमुख एजेण्डा तय गरिएको भएपनि त्यस विषयमा छलफल हुन नसकेको उहाँले जानकारी दिनुभयो ।