एमाले फुटाउने प्रयास कांग्रेसलाई महंगो पर्छ ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले फुटाउन गरेको कार्य महंगो पर्ने बताउनु भएकाे छ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‌टालाटुली बटुलीजस्तो गठबन्धनको सरकारमा रहेर देउवाले एमाले फुटाउने कार्य गरेका छन्। सरकारसँग केही अपेक्षा गर्न सकिँदैन। अहिले कांग्रेसको नेतृत्वमा एमाले फुटाउने कार्य भइरहेको छ। त्यो महंगो पर्नेछ।

देउवा सरकारले लोकतन्त्र र संविधान भन्दा बाहिर गएर निर्णय गरेको उहाँकाे भनाइ छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो।

संसद् अधिवेशन चालु नरहेको अवस्थामा सरकारले अध्यादेश ल्याउन पाउने संवैधानिक व्यवस्था छ। सरकारले संघीय संसदका दुवै सदनको चालु अधिवेशन सोमबार मात्र अन्त्य गरेको थियो।