पछिल्लो साता नेपाली कला क्षेत्र अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको विवादलाई लिएर तरंगित छ। फागुन ७ गते एक सञ्चार माध्यममा पल र समीक्षाको सम्बन्धलाई लिएर बनाएको एक सामग्री प्रकाशित भएपछि विवाद उत्कर्षमा पुगेको हो।
कोरोनाको तेस्रो लहरपछि प्रदर्शनमा आउन लागेको पहिलो नेपाली फिल्म ुम यस्तो गीत गाउँछु २ु ले प्रदर्शन मिति नजिकिएसँगै व्यापक प्रचार प्रसार थालेको थियो। जसको मुख्य भूमिकामा थिए पल।
बुधवार फिल्मको भव्य प्रिमियरको आयोजना गरिएको थियो। प्रिमियरमा पलसँगै समीक्षा पनि उपस्थित हुने र दुवैबारे भइरहेका चर्चा परिचर्चा धेरै हदसम्म प्रष्ट हुने अपेक्षा गरिएको थियो। तर, प्रिमियरको अघिल्लो दिन पल र समीक्षाका केही गोप्य अडियो सार्वजनिक भए। प्रिमियरकै दिन समीक्षाले पलविरुद्ध प्रहरीमा उजुरी दिइन्। जबरस्ती करणीको मुद्दामा उजुरी परेपछि प्रहरी पलको खोजीमा छ।
फिल्मको प्रिमियरमा पल अनुपस्थित भए। कोरोनाको तेस्रो लहरपछि प्रदर्शनमा आउँदै गरेको पहिलो नयाँ फिल्म त्यसमाथि पल र समीक्षाको केसले फिल्मको प्रदर्शनलाई लिएर निर्माण टोली चिन्तित थियो।
विवादै विवादका बीचमा शुक्रवारदेखि प्रदर्शन थालेको फिल्मले सुरुवात भने सुखद् गरेको छ। तीन विदेशी फिल्मसँग एकसाथ प्रदर्शन थालेको म यस्तो गीत गाउँछु २ ले दर्शक फर्काएको छ। प्रदर्शनको दोस्रो दिन पनि उल्लेख्य दर्शक पाएको फिल्मले दर्शकबाट प्रतिक्रिया पनि सकारात्मक पाएको छ।
शुक्रवार दर्शकसँगै फिल्म हेरेकी फिल्मकी निर्माता तथा अभिनेत्री पूजा शर्माले छिट्टै पल पनि आफूहरूसँगै फिल्म हेर्ने विश्वास दर्शकलाई दिलाएकी छन्। आफू पलको साथमा रहेको जनाउन उनले पलको फोटो प्रिन्ट भएको टिसर्ट लगाएर फिल्म हेर्न गएकी थिइन्।
फिल्मको निर्माण टोली र दर्शकले पल निर्दोष रहेको र आफूहरू पलको साथमा रहेको बताए पनि पलको विरोधमा उत्रनेको संख्या पनि उल्लेख्य छ। समीक्षामाथि अन्याय भएको र पललाई कानुनी सजाय हुनुपर्ने माग राख्ने जमात पनि ठूलो छ। साथै यो घटनामा दुवै उत्तिकै दोषी अथवा यो यसरी बाहिर नआउनुपर्ने घटना बाहिर आएको बताउनेहरू पनि छन्।