नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब एमाले नरहेको टिप्पणी गरेको छन्।
गोरखामा आयोजित नेकपा एकीकृत समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले आफैँले जन्माएको एमाले विध्वंशकारी बन्यो कस्तो विडम्बनारु आफैँले जन्माएको सन्तान रावण भइदियो गर्ने केरु अब अरूले गरेनन् राम्रो काम हामीले गर्ने हो।’
उनले एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको बताए। आगामी निर्वाचन आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन आग्रह गरे।
अध्यक्ष नेपालले भने, ‘अहिले हाम्रो अग्निपरीक्षा सुरु भइरहेको छ। तर, हामीले दुईवटा अग्निपरीक्षामा सफल भइसकेका छौँ। केपी ओलीलाई पराजित गरेर कलम चिह्नले जितिसकेका छौँ। हाम्रो पार्टीको तागतलाई मान्छेहरूले अनुमान गरिरहेका छन्। केपी ओलीसँग टक्कर लिएर अर्को पार्टी बनाउन सक्दैन भन्ने लाग्थ्यो। तर, ओली जेलमा बसेको बेलामा मैले यो पार्टी बनाएको हो।’
दुई तिहाइको सरकार हुँदा ओलीको अहंकारको कारणले प्रतिनिधिसभा विघटन गरेर उपलब्धि ध्वस्त पार्न खोजेको टिप्पणी गरे।
‘प्रचण्डजीको काँधमा चढेर आफूलाई ठूलो बनाउन खोजे। ओलीले हामीलाई पार्टीबाट निकालेपछि विद्रोहको झण्डा लिएर हिँड्यौँ’ उनले भने, ‘ओलीमा दक्षिणपन्थी धार देखियो। क्रान्तिकारी धार छाडे, भ्रष्टाचारमा डुबे, गफमा मात्रै गरिरहे।’
उनले आफूले विद्रोह गरेर निर्माण गरेको पार्टी ०७५ जेठ २ को नेकपाको निरन्तरता भएको दाबी गरे। अध्यक्ष नेपालले भने, ‘मूलधारको पार्टी हाम्रो हो। त्यो कुरा जनताले बुझिसकेका छन्। हामीले विद्रोह गरेर निर्माण गरेको पार्टी नेकपाको निरन्तरता हो। नेकपा एमाले अब एमाले रहेन। ुबीु माले, सीमाले भन्नुस्। अब सूर्यमा ग्रहण लागिसक्यो।‘
सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी सबैभन्दा ठूलो भएको बताए। ‘सुदूरपश्चिममा सबैभन्दा ठूलो पार्टी हाम्रो छ। चौथो नम्बरमा ओलीको एमाले छ। दुई नम्बर प्रदेशमा पनि हामीभन्दा अगाडि छ’ अध्यक्ष नेपालले भने, ‘ओलीमा खिसीट्युरीभन्दा केही छैन। हामी ओलीको जस्तो व्यवहार गर्न मिल्दैन। उनको जस्तो संस्कार हामीले लिन मिल्दैन। हामीले असल कम्युनिष्ट र मानिस बन्न तिर लागौँ। ओली प्रवृत्तिकै कारणले एमाले छाड्नेको लर्को लागेको छ।’
उनले अमेरिकी सहयोग परियोजना एमसिसीमा ओलीले अमेरिकाको सैन्य गठबन्धनको अंग बन्ने नै स्वीकारको दाबी गरेका छन्। ‘एमसिसी ओलीले अगाडि बढाए। शेरबहादुर पनि निःशर्त पास गर्न पक्षमा थिए। तर, हामी आँखा चिम्लेर बसेनौँ उनीहरुको जस्तो।
केपी ओलीका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली गएको बेला एमसीसीमा नेपाल सैन्य गठबन्धनको अंग बन्ने लेखिएको थियो’ उनले भने, ‘हामी कुनै सैन्य गठबन्धनमा जान सक्दैनौं भनेपछि अमेरिकाले पनि एमसीसीबाट पत्र लेखेर त्यो स्वीकार गर्यो र व्याख्यात्मक घोषणासहित पारित भयो।’ व्याख्यात्मक घोषणासहित सरकारले गरेको निर्णयमा अमेरिकाले पनि स्वीकार गरिसकेको दाबी गरे।