नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन् । नेपालगञ्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर आज कार्यकारी निर्देशक घिसिङसँग छलफल गरी समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।
छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगञ्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएको भन्दै समस्याको दीर्घकालीन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगञ्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरी केही दिनमै समस्याको समाधान हुने आश्वासन दिएको नगर प्रमुख विष्टले जानकारी दिए ।
यसैगरी नगर प्रमुख विष्टले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग पनि भेटघाट गरेका छन् । भेटमा नगर प्रमुख विष्टले शाहलाई नेपालगञ्ज आउन औपचारिक आमन्त्रण गरेका छन् । काठमाडौं र नेपालगञ्जका प्रमुखबीच विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।