
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परेर बेदकोट नगरपालिका १ रडहाका अन्दाजी ३५ वर्षीय दुर्गा महरा आज साँझ घाइते भएकी छन्।साथमा रहेका दुईजना महिलाले भागेर ज्यान जोगाएका छन्। हराएको गोरु खोज्न गएका बेला नगरपालिकाको वडा नं २ स्थित पानीट्यांकी नजिकैको जंगलमा हात्तीले आक्रमण गरेको वडा सदस्य विनोद बिष्टले बताए।
दुर्गासँगै गएका ४५ वर्षीय बेलु बिष्ट र ३२ वर्षीय हीरा बिष्टले भागेर ज्यान जोगाएको उनले बताए। ‘हात्तीले घाइते बनाएको खबर पाउने बित्तिकै एम्बुलेन्सको व्यवस्था गरी दुर्गालाई महाकाली अस्पताल पुर्यायौँ’, उनले भने, ‘घाँटीमा गम्भीर चोट लागेको छ। उपचारपश्चात घर ल्याएका छौँ। शरीरको भित्री भागमासमेत चोट लागेको छ।’ जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा निकै त्रसित भएका छन्। चुरे क्षेत्र नजिकका वनमा हात्तीले ओहोरदोहोर गर्ने गरेको छ।