नेपाल भ्रमणका लागि भारतीय सेनाध्यक्ष पाण्डे १९ भदौमा आउने

भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे १९ भदौमा ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् ।नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ । त्यसैका लागि उनी काठमाडौं आउन लागेका हुन् ।पाण्डेको नेपाल भ्रमण पाँच दिने हुने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अनलाइनखबरलाई बताए । ‘अझै समय बाँकी रहेकाले यहाँका कार्यक्रमहरु तय भइसकेका छैनन्’ सहायक रथी सिलवालले भने ।

यसअघि २० कात्तिक २०७७ मा पाण्डे अघिका भारतीय सेनाध्यतक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका थिए । पाण्डे अब नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी बन्नेछन् ।

पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौंका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने भनिएको छ । नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।