नेकपा एमालेको पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उम्मेदवारको छनौटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेश गर्ने लगायतका केन्द्रीय कमिटीका एजेण्डा तय गरिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै सङ्गठित सदस्यहरूको व्यवस्थापन, परिषद् तथा आयोगको प्रतिवेदन पेश गर्ने लगायतका एजेण्डा समेत तय भएको उहाँले बताउनुभयो ।
बैठकमा अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनुभएको थियो भने १५ जना पोलिटब्यूरो सदस्यहरूले प्रतिवेदनमाथि धारणा राखेको गुरुङले जानकारी दिनुभयो । गुरुङले पार्टीको नीति सिद्धान्त र कार्यक्रममा प्रतिबद्धता रहेको, कुनै पनि व्यक्तिले पार्टीको आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चितता तथा संविधानमा व्यवस्था भएको समानुपाती सहभागितालाई आधार बनाएर उम्मेदवारको मापदण्ड तय गरिने जानकारी दिनुभयो ।
मापदण्डलाई अन्तिम रूप केन्द्रीय कमिटीले दिने उहाँले बताउनुभयो । एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार बस्ने तय भएको छ ।