मदिरा, सुर्तीजन्य, कारलगायत १० वस्तु ल्याउन अब के हुन्छ

सरकारले ‘विलासिता’ का १० वस्तु आयातमा चार महिनाअघि लगाएको प्रतिबन्धको म्याद सकिएको छ । आइतबार मध्यरातिबाट म्याद सकिए पनि सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन । आयात अब पनि निषेध गर्ने कि खुकुलो गर्ने भन्नेमा सरकारले विज्ञहरूसँग परामर्श गर्न आवश्यक ठानेको छैन । अर्थ मन्त्रालय र राष्ट्र बैंकका पदाधिकारीसहित भएको बैठकले प्रतिबन्धलाई यथावत् राख्न सुझाव दिएको थियो, मन्त्रालयले पनि प्रतिबन्ध कायम राख्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको जानकारी दिएको छ । ‘पछिल्लो समय विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार देखिएको छ, मदिरा, सुर्तीजन्य, कारलगायत १० वस्तुको आयात बन्देजलाई मन्त्रालयका तर्फबाट निरन्तरता दिने निर्णय भएको छ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले भनिन्, ‘मन्त्रालयको निर्णय मन्त्रिपरिषद्मा पेस गरिएको छ । उताको निर्णयबारे जानकारी आएको छैन ।’

त्यस्तै, बन्देज भए पनि साउनमा ४ करोड २८ लाखको रंगीन टीभी, १६ करोड ८६ लाखको जिप, कार र भ्यान आयात भएको छ । त्यस्तै, १८ करोड २४ लाख बराबरको १५० सीसीमाथिका मोटरसाइकल, ४० लाखको तास र ६२ लाखका खेलौनाहरू आयात भएका छन् । ती वस्तुहरू २०७९ साउन १ भन्दा अगाडि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन भइसकेको आयात अनुमति पाएको विभागले जनाएको छ

कान्तिपुरबाट