गठबन्धनको सिट बाँडफाँट शीर्ष नेताकाे जिम्मा

सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धि प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ । कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बालुवाटार बसेको बैठकमा प्रतिवेदन शीर्ष नेता समक्ष प्रस्तुत गरिएको जानकारी दिनुभयो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘कार्यदलद्वारा शीर्षस्थ नेतृत्वमा प्रतिवेदन पेश भयो । त्यो प्रतिवेदबारे कार्यदल र नेतृत्व बीचमा लामो समय छलफल भयो ।’’बैठकमा कार्यदलले शीर्षस्थ नेतृत्वमा आफ्नो दृष्टिकोण राखेको र अब शीर्षस्थ तहमा छलफल भएर निष्कर्ष निस्कने उहाँको भनाइ छ ।

‘‘जुन कुरा बाहिर उठेका छन्, ती विश्लेषणसहित प्रतिवेदनमा उठाएका छौं । पहिलादेखि भन्दै आएको हो, न्यायोचित र सम्मानजनक ढंगले सिट बाँडफाँट हुन्छ । मैले जितेको छु भन्ने भावनाले सिट बाँडफाँट हुन्छ’’, उहाँले भन्नुभयो ।उहाँले यस सम्बन्धमा शुक्रबार दिउँसो ३ बजे फेरि छलफल हुने जानकारी दिनुभयो । ११ सदस्यीय कार्यदलमा कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक हुनुहुन्छ । सञ्चारमन्त्री कार्कीसहित महामन्त्री गगनकुमार थापा सदस्य हुनुहुन्छ ।नेकपा (माओवादी केन्द्) बाट देव गुरुङ, वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी) बाट वेदुराम भुषाल, प्रमेश हमाल, जनता समाजवादीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ सदस्य हुनुहुन्छ।

यसैगरी, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ । मंसिर ४ गते हुने संघीय चुनावका लागि सत्तामा रहेको दलले गठबन्धन गरेर जाने गरी सिटबाँडफाँटको लागि कार्यदल गठन भएको हो । लामो समयदेखि भएको छलफलपछि प्रतिवेदन बिहीबार शीर्ष नेतालाई बुझाएको कार्यदलले शीर्ष नेताबाट आएका सुझाव समेटेर सहमति सार्वजनिक गर्ने तयारी गरेको छ ।