क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिमबाट खेलाउने निर्णय गरिनसकेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनु भएको छ ।
सन्दीपलाई प्रशिक्षणमा सहभागी गराएको सार्वजनिक भएपछि क्यान अध्यक्ष चन्दले अहिले नै सन्दीप राष्ट्रिय टिममा फर्किनसकेको जानकारी दिनु भयो ।
सन्दीपकै आग्रहमा उनलाई प्रशिक्षण गर्न दिएको भने अध्यक्ष चन्दले स्वीकार गर्नु भएको छ ।‘मैदानमा गएर प्रशिक्षण गर्न पाउँ भनेपछि उसलाई रोक्ने कुरा भएन,’ चन्दले सेतोपाटीसँग भने, ‘उसले जेलमा पनि प्रशिक्षण गर्न पाउँथ्यो। फिजिलक प्रशिक्षण जहाँ पनि गर्न पाइने कारणले उसलाई प्रशिक्षणमा सहभागी गराइएको हो।’
हाल सन्दीप राष्ट्रिय टिमबाट निलम्बित अवस्थामा छन्। क्यानले बलात्कार अभियोग लागेपछि सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।
उच्च अदालत पाटनले गत बिहीबार लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेशले थुनामा राख्नैपर्ने पर्याप्त आधार नभएको भन्दै २० लाख रुपैयाँ धरौटीमा छोडिदिएको थियो।