नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले कमजोर बनाउन नसक्ने बताएका छन्। पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सिध्याउने आँट नगर्न चेतावनी पनि दिए।
हामी चौतर्फी घेराबन्दी र आक्रमणबाट यहाँसम्म आयौं। हामीलाई सिध्याउनका लागि बनाइएको चक्रव्यूह तोडेर एमाले मुलुकको लोकप्रिय पार्टी बनेको छ’, ओलीले भने, ‘कसैले सिध्याउने कुरा छाडिदिउँ कमजोर पार्छु भन्यो भने पनि त्यो असफल हुन्छ । त्यसको प्रयास र समय खेर जान्छ ।’ उनले प्रचण्ड र माधवकुमार नेपालप्रति संकेत गर्दै उनीहरूलाई सर्पको संज्ञा दिए।
‘घरैभित्र सर्पको बास छ भने कतिबेला मरिन्छ भन्ने टुंगो हुँदैन। सर्पले हामीलाई चारैतिरबाट डस्न खोजे। अलिअलि कार्यकर्ताले धुवाँ लगाइ दिएपछि सर्पहरु भागे।’ ओलीले थपे,‘आज फेरि नेकपा एमाले मजबुद अवस्थामा छ, यसपार्टीलई कसैले सिध्याउँछु भन्ने कुरा परै छाडौं यसलाई कमजोर पार्ने दुस्साहस गर्यो भने पनि त्यो असफल हुनेछ। ’
गत निर्वाचनमा आन्तरिक कमजोरी नभएको भए प्रत्यक्षमा धेरै सिट जितेर एमाले पहिलो पार्टी बन्ने उनको जिकिर थियो। एमालेको चुनावी नतिजा बिग्रनुमा मा गठबन्धनको भन्दा पनि आन्तरिक प्रभाव बढी परेको उनको तर्क थियो।