इन्धनको मूल्य घट्यो,बिक्रीमा निगमलाई ६५ करोड नोक्सान

नेपाल आयल निगमबाटै इन्धनको मूल्य घट्ने सूचना चुहिएपछि व्यापारीहरुले इन्धन आयात घटाएका छन् । आइतबार साँझ मूल्य घट्ने सूचनाका कारण पम्प व्यवसायीहरुले दैनिक खरिद परिमाण घटाउँदा बागमती प्रदेश भित्र मात्रै निगमको इन्धन बिक्रीमा सावा ४ लाख लिटरले कमी आएको छ । जसका कारण निगलाई झण्डै ६५ करोड रुपैयाँ हाराहारी क्षति पुग्ने अनुमान गरिएको छ ।

निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने सूचना चुहाएको थियो । निगमलाई हवाला दिंदै खाना पकाउने ग्याँसदेखि डिजेल, पेट्रोल र मटीतेलको मूल्य घट्ने समाचार आइतबार बिहानै बाहिरिए पछि त्यसको असर निगमकै बिक्रीमा परेको हो ।

आयल निगम बागमती प्रादेशिक कार्यालय थानकोटकाअनुसार आइतबार साबिकको तुलनामा डिजेल र पेट्रोलको बिक्री ४ लाख १६ हजार लिटरले घटेको छ । शनिबार र आइतबार दुई दिन डिपो खुल्ला राख्दा पनि जम्मा डिजेल र पेट्रोलको कुल बिक्री ११ लाख ७६ हजार मात्रै छ । गत साता आइतबार थानकोटको डिजेल र पेट्रोलको बिक्री १५ लाख ९२ हजार लिटर थियो ।

आज मध्यान्ह १२ बजेसम्म थानकोट डिपोले प्रदेशभरका लागि ४ लाख ६३ हजार लिटर डिजेल बिक्री गरेको छ । जुन अघिल्लो साताको तुलनामा २ लाख ३५ हजार लिटरले कम हो । गत साता आइतबारको डिजेलको बिक्री ६ लाख ९८ हजार लिटर थियो ।

यस्तै, आज मध्यन्हसम्म कुल ७ लाख १३ हजार लिटर पेट्रोल डिपोले बिक्री गरेको छ । जुन गत साताको आइतबारको बिक्रीको तुलनामा एक लाख ८१ हजार लिटरले कम हो । २४ गते आइतबार ८ लाख ९४ हजार लिटर पेट्रोल बिक्री भएको थियो । कम बिक्रीका कारण डिजेलमा निगमलाई ३४ करोड ६६ लाख र पेट्रोलमा ३० करोड ३१ लाख रुपैयाँ गरी ६४ करोड ९७ लाख नोक्सानी भएको छ ।

त्यसो त ठूलै मात्रामा मूल्य घट्ने सूचना पछि अड्कलेर मात्रै डिजेल पेट्रोल किनेको पम्पहरुले पनि स्वीकार गरेका छन् । दैनिक ६० हजार लिटर डिजेल पेट्रोल किन्ने पम्पले अड्कलेर आधा भन्दा कम मात्रै इन्धन किनेको बताएका छन् ।